काठमाडौँ, साउन ८ गते । अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिर लैजान सकिने भएको छ ।
नेपाल राष्ट्र बैङ्कले नेपाल आउने तथा बाहिरिने यात्रुले नगद विदेशी मुद्रा र भारतीय रुपियाँ ल्याउने तथा लैजाने व्यवस्था गरेको हो । राष्ट्र बैङ्कले जारी गरेको सूचना अनुसार अमेरिकी डलर पाँच हजारसम्म वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिर लैजान सकिने भएको हो ।
विदेशी विनिमय ऐन, २०१९ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर पाँच हजार वा राष्ट्र बैङ्कले विनिमय दर प्रकाशन नगर्ने, अन्य विदेशी मुद्रा सोही बराबरको रकमसम्म घोषणा नगरी ल्याउन वा लैजान सक्ने व्यवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ । यसभन्दा बढी रकमको विदेशी मुद्रा ल्याउने वा लैजाने व्यक्तिले भने अनिवार्य रूपमा भन्सार कार्यालयमा घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएको छ ।


भारतीय मुद्राको हकमा नेपाली तथा भारतीय नागरिकले सन् २०१६ नोभेम्बर ९ पछि चलनचल्तीमा आएका भारु दुई र पाँच सय रुपियाँ दरका नोट प्रतिव्यक्ति अधिकतम २५ हजार रुपियाँसम्म ल्याउन, लैजान तथा प्रचलित व्यवस्था अनुसार सटही गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कले २०८२ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनालाई उल्लेख गर्दै सन् २०१६ नोभेम्बर ९ भन्दा अघि चलनचल्तीमा रहेका भारु पाँच सय र एक हजार दरका नोटको कारोबार गर्न नपाइने व्यवस्था यथावत् रहेको जनाएको छ ।
त्यसै गरी नेपाली नागरिकले भारतबाहेक अन्य कुनै पनि मुलुकमा भारतीय रुपियाँ लैजान वा त्यस्ता मुलुकबाट भारतीय रुपियाँ नेपाल ल्याउन नपाउने व्यवस्था पनि कायमै रहेको राष्ट्र बैङ्कले स्पष्ट पारेको छ । राष्ट्र बैङ्कले यसअघि २०७५ असार ३२ र २०७५ चैत २६ मा जारी गरेको सूचना अनुसारको व्यवस्थालाई पुनः स्मरण गराउँदै विदेशी मुद्रा तथा भारतीय रुपियाँ ओसारपसार गर्दा प्रचलित कानुनी व्यवस्था पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































