

काठमाडौँ, साउन ५ गते । यातायात कार्यालयबाट हुँदै आएको सवारी दर्र्ता, नामसारी, सवारीचालक अनुमतिपत्र लाइसेन्स नवीकरण तथा नयाँ परीक्षा र राजस्व भुक्तानीलगायतका सेवा साउन ८ गतेसम्म बन्द भएको छ । यातायात व्यवस्था विभागले साउन १ गतेदेखि ४ गतेसम्म सर्भर अपडेट सम्पन्न नभएपछि साउन ८ गतेसम्म सेवा अवरुद्ध हुने अर्को सूचना सार्वजनिक गरेको छ ।
विभागले विगतदेखि चलाउँदै आएको ‘इडिएलभिआरएस सफ्टवेयर’ प्रणालीलाई थप व्यवस्थित र अपग्रेड गर्न लागेको हुँदा दैनिक सेवा प्रभावित भएका हुन् । ‘डेटा माइग्रेसन’ को प्राविधिक काम भएकाले देशभर सेवा अवरुद्ध भएको विभागले जनाएको छ । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र एकान्तकुना कार्यालयका प्रमुख केशवकुमार जिएमले भन्नुभयो, “पुरानो इडिएलबाट नयाँ इडिएलमा डेटा माइग्रेसनको काम भइरहेको छ । बढेको कर पनि त्यसमा इन्ट्री गर्नु पर्छ । समग्रमा इडिएल अपग्रेड गरिएको हो ।”
विभागले प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन डेटाबेस स्थानान्तरणको काम भइरहेकाले अति आवश्यक अवस्थाबाहेक आगामी ८ साउनपछि मात्र सम्बन्धित कार्यालयमा सम्पर्क राख्न सेवाग्राहीलाई आग्रह गरेको छ । विभागका सूचना अधिकारी गणेशमानसिं राईका अनुसार डेटा माइग्रेसनका साथै नयाँ आर्थिक वर्षका लागि प्रदेश सरकारले तोकेका नयाँ करका दररेट पनि प्रविष्ट गर्ने र पुराना डेटासँग मिलान गर्ने काम भइरहेको छ ।
हाल यातायात कार्यालयले लाइसेन्स वितरणको काम मात्र गरिरहेका छन् । इडिएलभिआरएस अपग्रेड भएपछि लाइसेन्स प्राप्त गर्नका लागि आवश्यक पर्ने स्वास्थ्य परीक्षण गराउन पनि यातायात कार्यालय जानु पर्दैन । नयाँ लाइसेन्स प्रणाली अन्तर्गत नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका इजाजतप्राप्त चिकित्सकले अनलाइन पोर्टलबाटै सेवाग्राहीको स्वास्थ्य अवस्था प्रमाणित गर्न सक्ने व्यवस्था छ ।
बायोमेट्रिक्स भेरिफिकेसनदेखि भुक्तानीका सबै प्रक्रिया अनलाइनबाटै हुने छ । परीक्षाका लागि मात्रै कार्यालयमा उपस्थित हुनुपर्ने छ । विभागले सातै प्रदेशका छुट्टाछुट्टै अनलाइन प्रणाली अपग्रेड गरेको छ । उपत्यकाका यातायात कार्यालयले पनि सोमबार साउन ८ गतेसम्मको सूचना सार्वजनिक गरेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































