07/01/2026, 08:33:21
बुधबार, असार १७, २०८३

परीक्षणका रूपमा चितवनमा ‘नाइट जिप सफारी’ सञ्चालन


सौराहा, असार १७ गते । चितवनमा परीक्षणका रूपमा पहिलो पटक ‘नाइट जिप सफारी’ सञ्चालनमा ल्याइएको छ । चितवनको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यसहित बरन्डाभार जैविक मार्ग अन्तर्गतका सामुदायिक वनक्षेत्रमा पहिलो पटक ‘नाइट जिप सफारी’ सुरु गरिएको हो ।

यसअघि चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा दिउँसो जिप सफारी गर्ने व्यवस्था थियो । यसलाई विस्तार गर्दै राति पनि सेवा दिन थालिएको हो ।

बागमती प्रदेश सरकारका पर्यटन सचिव दीपेन्द्र सुवेदीले पर्यापर्यटनलाई सामुदायिक वनसम्म विस्तार गर्ने लक्ष्यसहित यो नयाँ अवधारणा अघि बढाइएको बताउनुभयो । “प्रदेश सरकारले आवश्यक नीति नियम बनाएर नै रात्रिकालीन जिप सफारीको सेवा सुरु गरिएको हो,” उहाँले भन्नुभयो ।

पहिलो चरणमा बेलुका ५ बजेदेखि राति ९ बजेसम्म नाइट जिप सफारी सञ्चालन गरिने छ । यसका लागि प्रतिजिप पाँच सय रुपियाँ शुल्क निर्धारण गरिएको छ । नाइट सफारीलाई नेपालकै पर्यटन क्षेत्रमा नयाँ ‘टुरिजम प्रोडक्ट’ का रूपमा विकास गर्ने योजना रहेको पनि उहाँले जनाउनुभयो ।

रत्ननगर नगरपालिका–दक्षिण क्षेत्रस्थित पञ्चकन्या सामुदायिक वन तथा कालिका नगरपालिका अन्तर्गतका चर्तुमुखी र भीमवली सामुदायिक वनले संयुक्त रूपमा करिब ३० किलोमिटर लामो जङ्गल मार्ग निर्माण गरी नाइट जिप सफारी सुरु गरेका हुन् । यसका लागि प्रदेश सरकारले आवश्यक लगानी र सहकार्य गर्दै अघि बढेको पनि सचिव सुवेदीले बताउनुभयो ।

पञ्चकन्या सामुदायिक वनका अध्यक्ष गोविन्द स्याङ्त्याङले परीक्षण सफल भएपछि नाइट जिप सफारीलाई नियमित पर्यटन गतिविधिका रूपमा सञ्चालन गरिने बताउनुभयो । उहाँले यसले वन संरक्षणसँगै स्थानीय समुदायको आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । बरन्डाभार क्षेत्र चितवन राष्ट्रिय निकुञ्जलाई महाभारत क्षेत्रसँग जोड्ने महत्वपूर्ण जैविक मार्ग हो ।

प्रभावकारी संरक्षणका कारण यस क्षेत्रमा एकसिङ्गे गैँडा, पाटेबाघ, चितुवा, भालु, जरायो, चित्तल, बँदेल लगायतका वन्यजन्तु देख्न सकिन्छ ।

भीमवली सामुदायिक वनका अध्यक्ष मछिन्द्र पाण्डेले रातको समयमा वन्यजन्तुको प्राकृतिक गतिविधि अवलोकन गर्न सकिने भएकाले नाइट सफारी पर्यटकका लागि थप आकर्षण बन्ने बताउनुभयो । जङ्गलभित्र रहेका तालतलैयाको संरक्षण, वन्यजन्तु अवलोकनका लागि मचान निर्माण तथा पर्यटकमैत्री पूर्वाधार विकासका कामलाई पनि सँगै अघि बढाएका छन् ।