चितवन, जेठ २६ गते । भारतीय पर्यटकका लागि चितवन अहिले घुम्ने उपयुक्त समय हो । विगतका वर्षमा सौराहा, मेघौली लगायतका स्थान भारतीय पर्यटकले भरिभराउ पनि हुन्थे । विगतमा गर्मी छल्न सौराहा आउने पर्यटक अहिले चिसो खोज्दै पोखरा र मुस्ताङ जान थालेपछि सौराहा सुनसान जस्तै बनेको छ ।
क्षेत्रीय होटेल सङ्घ सौराहा च्याप्टरका महासचिव महेश खनालले यस वर्ष भारतीय पर्यटकको सङ्ख्या अत्यन्त न्यून रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा सौराहा आउने र यहाँ जङ्गल सफारी गर्ने भारतीय पर्यटक प्रशस्त हुन्थे तर यस वर्ष कमी आएको छ ।”
अहिले युरोपेली मुलुक, चीन र स्वदेशका पर्यटक भने चितवन आउने गरेको उहाँले बताउनुभयो । सौराहा च्याप्टरका पूर्वअध्यक्ष सुमन घिमिरेले सौराहामा कम भारतीय पर्यटक आएको बताउनुभयो । चैतदेखि असारसम्म पर्यटकका लागि उपयुक्त हो । त्यसमा पनि भारतीयका लागि यो समय अझ राम्रो हो । उहाँ भन्नुहुन्छ, “विगतका वर्षमा राम्रो थियो, अहिले सामान्य अवस्था छ ।”
क्षेत्रीय होटेल सङ्घ सौराहा च्याप्टरका अध्यक्ष ओम पाण्डेले चितवनमा अहिले पर्यटकको सङ्ख्या अत्यन्त कम भएको बताउनुभयो । यहाँ आउने भारतीय पर्यटक पोखरा जान थालेकाले यस वर्ष यहाँका होटेल खाली भएका छन् । भारतबाट आउने पर्यटकमा अधिकांश कम खर्च गर्ने भएको उहाँले बताउनुभयो । लक्जरी सुविधा लिनेको सङ्ख्यामा कमी भए पनि पोखरा तथा मुक्तिनाथका सामान्य होटेल भने एक महिनादेखि भरिभराउ भएको उहाँले जानकारी दिनुभयो ।
पर्यटन व्यवसायी शम्भु माली गर्मीका कारण पर्यटकको सङ्ख्यामा कमी आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चितवन अहिले सुनसान जस्तै भएको छ । चिनियाँ र नेपाली पर्यटकका कारण मात्र व्यापार टिकेको छ । भारतीय पर्यटक कुनै कुनै होटेलमा मात्र देखिएका छन् ।”
क्षेत्रीय होटेल सङ्घका महासचिव खनालले विगतमा भन्दा यस वर्ष भारतीय डाइभर्ट भएर हिमाली क्षेत्रमा जान थालेको बताउनुभयो । सौराहाका अर्का पर्यटन व्यवसायी गोकर्ण गिरीले पर्यटक भरिभराउ हुने समयमा अधिकांश होटेल खाली भएको बताउनुभयो । बिदाको समयमा नेपाली आए पनि भारतीय देख्न मुस्किल हुन थालेको उहाँको भनाइ छ ।
पोखरा लेक साइडका पर्यटन व्यवसायी राजेन्द्र आचार्यले गत वर्षसम्म सामान्य भारतीय आउने गरेकोमा अहिले पूरै होटेल भारतीयले भरिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “गएको एक महिना यता भारतीयले नै होटेल भरिएका छन् । मेरोमा मात्र होइन यहाँका सबै होटेलमा भारतीय पर्यटकको भिड लागेको छ ।” पोखराबाट सिधै मुुक्तिनाथ र जोमसोम गएर बस्ने पर्यटक वृद्धि भएको उहाँको भनाइ छ ।
पोखराकै लेकसाइड हल्लन चोकका पर्यटन व्यवसायी अमृत सुवेदीले अबको एक हप्तासम्म होटेलका सबै कोठा बुक भइसकेको जानकारी दिनुभयो । ती सबै भारतीय रहेको उहाँले बताउनुभयो । विगतमा नेपाल आएका पर्यटक एक रात चितवन बसेर अर्को दिन पोखरा हुँदै हिमाली जिल्ला जान्थे तर यस पटक चितवन नगएर भारतीय पर्यटक पोखरा गए, चितवनका पर्यटनविज्ञ विश्व सुवेदीले बताउनुभयो ।
चितवन र यस आसपासको तापक्रम वृद्धि भएपछि पर्यटकीय क्षेत्रमा समेत चहलपहल कम हुन थालेको हो । जिल्लाको उचाइमा रहेको लामो झरना, उपरदाङगढी, सिराइचुली, शक्तिखोरको झरना, राप्ती नगरपालिकाको पहाडी क्षेत्र, भरतपुर महानगरपालिकाको चौकी डाँडालगायतका स्थानमा पर्यटक भरिएका छन् तर सौराहा, मेघौली, पटिहानी लगायतका क्षेत्रमा ठुला लगानी गरेर बनाइएका होटेल तथा रिसोर्टमा पर्यटकको सङ्ख्यामा कमी आएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म निकुञ्जभित्र सफारीका लागि प्रवेश गरेका पर्यटक दुई लाख २६ हजार ८७६ रहेको बताउनुभयो । तीमध्ये १३ हजार ९९२ सार्क मुलुकका छन् भने विदेशी पर्यटकको सङ्ख्या ७५ हजार ६३८ रहेको छ । निकुञ्ज प्रवेश गर्नेमा एक लाख ३७ हजार २४६ नेपाली रहेको थापामगरले जानकारी दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































