06/05/2026, 13:58:13
शुक्रबार, जेठ २२, २०८३

७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ, जेठ २२ गते। बैंकिङ प्रणालीमा विद्यमान अधिक तरलता नियन्त्रण तथा व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले शुक्रबार ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ७७ दिन अवधिको लागि उक्त रकम बजारबाट तान्न लागेको जनाएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा तरलता उच्च स्तरमा रहेकाले राष्ट्र बैंकले नियमित रूपमा बजारबाट रकम अवशोषण गर्दै आएको छ।

 

यस प्रक्रियामा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सहभागी संस्थाहरूले आफूले निक्षेप गर्न चाहेको रकमसँगै प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ। प्राप्त प्रस्तावमध्ये न्यूनतम ब्याजदरका आधारमा राष्ट्र बैंकले रकम स्वीकृत गर्नेछ।

निक्षेप संकलन कार्यक्रममा न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ। साथै, कुल माग गरिएको रकमको सीमाभित्र रही पाँच करोड रुपैयाँले भाग जाने रकमका लागि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार यसरी संकलन गरिने निक्षेपको अवधि ७७ दिन रहनेछ र उक्त उपकरण २०८३ साल भदौ ५ गते परिपक्व हुनेछ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..