कञ्चनपुर, जेठ १९ गते । दुई वर्षअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर नदीमा घडियाल गोही छाडियो । चितवनको कसरा क्षेत्रबाट ल्याइएका २५ वटा घडियाल गोहीलाई २०८० चैतमा चौधर नदीको पिटरघाट क्षेत्रमा छाडिएको हो । स्थानान्तरण गरिएको केही समयसम्म गोहीको नियमित अनुगमन भए पनि अहिले तिनको अवस्थाबारे खासै जानकारी छैन । अनुगमन पनि हुन सकेको छैन ।
सुरुको एक/दुई महिना गोहीको नियमित अनुगमन गरियो । त्यतिबेला स्थानान्तरण गरिएको क्षेत्र आसपासमा देखिएका थिए । त्यसयता अनुगमन हुन सकेको छैन । बजेट र जनशक्तिको अभावका कारण नियमित अध्ययन हुन नसकेको निकुञ्जको गुनासो छ ।
‘अहिले गोहीको अवस्था के कस्तो छ, केही थाहा छैन, चौधर नदीमा गोही देखिएका पनि छैनन्,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘हिउँदमा माघतिर चौधर नदीमै बेलडाँडी आसपास गस्ती गर्दा देखिएको भन्ने आएको थियो, तर घडियाल हो वा अरू केही हो, पक्का यकिन भएन ।’
स्थानान्तरण गर्ने बेला निश्चित क्षेत्रमा घेरबार लगाएर राखिएको थियो । उक्त क्षेत्रमा राम्ररी घुलमिल हुनका लागि दुई घेरामा राखिएको थियो । ढड्डीको घेरबार गोही आफैंले फोडेर निर्वाध रूपमा नदीमा पसेका थिए । त्यसयता केही दिनसम्म नियमित अनुगमन गरिए पनि अहिले भने तिनको अवस्थाबारे कुनै सोधीखोजी भएको छैन ।
‘घडियालको अध्ययनका लागि छुट्टै कार्यक्रम आएको छैन, हामीसँग प्राविधिक जनशक्ति पनि छैन,’ निकुञ्जका संरक्षण अधिकृत वाग्लेले भने, ‘फेरि अध्ययनका लागि विभागले नै कार्यक्रम तय गर्नुपर्छ वा विभागबाट स्विकृति लिएर मात्रै गर्न सकिन्छ ।’ उनका अनुसार अध्ययनका लागि ३/४ लाख हाराहारी बजेट आवश्यक हुन्छ ।


गोहीले बसोबास गर्न सक्ने घोल, आहारा आदिका बारेमा जानकारी भएको प्राविधिकले मात्रै अध्ययन गर्न सक्छ । त्यस्ता प्राविधिक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छैनन् । विभाग वा चितवनबाट मगाएर अध्ययन गर्नुपर्ने वाग्ले बताउँछन् ।
२०८१ असारमा आएको बाढीले निकुञ्ज क्षेत्रमा पनि ठूलो क्षति पुर्यायो । त्यतिबेला चौधर नदीमा आएको बाढीले घडियाल बगेर भारततिर पुगेको हुन सक्ने अनुमान पनि गरिएको छ । स्थानान्तरण गरिएको घडियालको बाँच्ने दर निकै कम हुन्छ । प्रजनन केन्द्रबाट स्थानान्तरण गरिएको क्षेत्रमा आहाराको अभाव, नयाँ विचरण क्षेत्र हुनु आदि कारणले यसको बाँच्ने दर कम हुने प्राविधिकहरू बताउँछन् ।
संकटापन्न अवस्थामा रहेको घडियाल स्वच्छ पानीमा बस्ने गर्छ । यसको आहारा माछा हो । घडियाल भएको नदी स्वच्छ मानिन्छ । नदी र पानीको स्वच्छताका लागि पनि घडियाल महत्त्वपूर्ण मानिन्छ ।
सन् १९९० को दशकमा चौधर नदीमा घडियाल गोही देखिने गरेको थियो । त्यसकै आधारमा सम्भाव्यता अध्ययन गरेर चितवनको कसरा क्षेत्रबाट २५ वटा गोही स्थानान्तरण गरिएको हो । उसो त चौधर नदीमा ५० वटा घडियाल स्थानान्तरण गर्ने योजना थियो । तर पहिलो चरणमा २५ वटा स्थानान्तरण गरेपछि उक्त कार्यक्रम त्यत्तिमै सीमित हुन पुग्यो ।
– भवानी भट्ट
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













































