बिर्सने रोगलाई चिकित्सा भाषामा डिमेन्सिया भनिन्छ । स्मरण क्षमता, सोचाइ, निर्णय क्षमता, भाषा, व्यवहार आदिमा आएको ह्रासलाई जनाउने एउटा बृहत् शब्दका रूपमा डिमेन्सियालाई बुझ्न सकिन्छ ।
६५ वर्ष उमेर नाघेका व्यक्तिमा बिर्सने समस्या स्वाभाविक मान्न सकिएला तर २५ वर्षका युवाको बिर्सने समस्या छभन्दा कारण खुट्याउनुपर्ने हुन्छ । त्यसो त कतिपय अवस्थामा बिर्सने बानी स्वाभाविक पनि हो । संसारको जुनसुकै व्यक्तिले सबै कुरा सम्झिइराख्न सक्दैन । कसैलाई धेरै तनाव छ भने त्यस्तो अवस्थामा मस्तिष्कले बाह्य कुरामा राम्रोसँग ध्यान पु¥याउन सक्दैन । यस्तो अवस्थामा मस्तिष्कले बाहिरको कुन कुरालाई प्राथमिकतामा राख्ने मेसो पाउँदैन । जसका कारण एकछिन अगाडिकै कुरा भए पनि सम्झिन खोज्दा बिर्सने हुन्छ ।
तर डिमेन्सियाको कुरा अलि फरक छ । डिमेन्सिया अधिकतर बुढ्यौली उमेरका व्यक्तिमा हुन्छ भने यसमा सुरुमा तत्कालको कुरा छिटो बिर्संदै गएर पहिले पहिलेको कुरा पनि बिर्सन थाल्छन् । जस्तै कि बिहान के खाएँ, औषधी खाएँ कि खाइनँ, चाबी कहाँ राखेँ, चस्मा कहाँ राखेँ आदि ।


जसरी बढ्दो उमेरसँगै शरीर जीर्ण हुँदै जान्छ यस मामिलामा मस्तिष्क पनि अछुतो छैन । बढ्दो उमेरसँगै मस्तिष्क सुकेर डिमेन्सिया निम्तिने गर्छ र कतिपय व्यक्तिमा भने बाह्य कारण (रोग) ले गर्दा बिर्सने समस्या विकसित हुन्छ । डिमेन्सियाको समस्यामा बिर्सने मात्र होइन केही नयाँ कुरा सिक्नेमा पनि समस्या हुन्छ ।
सामान्य बुढ्यौलीमा कहिलेकाहीँ नाम भुल्ने वा सामान राखेको ठाउँ बिर्सिने, कुरा सम्झिन अलि समय लाग्ने, नयाँ कुरा सिक्न ढिलो हुने, एकैचोटि धेरै काम गर्न गाह्रो हुने आदि हुन सक्छ तर यी स्वाभाविक परिवर्तनका कारण दैनिक कामकाज खासै प्रभावित हुँदैन तर डिमेन्सियामा भने बारम्बार जरुरी कुरा पनि बिर्सिने, एउटै कुरा पटक पटक सोधिरहने तथा घर पुग्ने बाटो, मानिस वा समय थाहा नपाउने, पैसाको हिसाब, औषधी, खाना पकाउने जस्ता दैनिक काम गर्न नसक्ने हुँदा प्रभावित व्यक्तिको व्यवहार र व्यक्तित्वमै परिवर्तन आउन थाल्छ ।
उमेर बढेसँगै डिमेन्सियाको जोखिम बढ्नुमा मस्तिष्कका कोष बिस्तारै शिथिल हुँदै जाने, उच्च रक्तचाप, मधुमेह, मस्तिष्काघात जस्ता समस्या पनि हुने, श्रवणशक्ति कमजोर हुने हुन्छ । किनकि बुढ्यौलीमा मस्तिष्कमा रक्तसञ्चार कम हुन सक्छ । स्मरणशक्तिसँग सम्बन्धित अन्य रोग पनि भएको हुन सक्छ । ६५ वर्ष उमेरपछि डिमेन्सियाको जोखिम करिब प्रत्येक पाँच वर्षमा दोब्बर हुँदै जान्छ ।
बिर्सने रोगका लक्षण
बिर्सने रोग लागेका व्यक्तिले बिहान के खाएको, औषधी खान बिर्सेको, कुन सामान कहाँ राखेको जस्ता लक्षणबाट सुरु भएर समस्या बढ्दै गएपछि दैनिक गतिविधिमा समस्या देखिन थाल्छ । चर्पीबाट बाहिरिएपछि हात धुन बिर्सने, एउटा कोठा भनेर अर्कै कोठामा पुग्ने, खाली खुट्टा हिँड्ने, घरबाट केही काम गर्न निस्कने र फर्कने बेला घरको बाटो नै बिर्सने हुन्छ । समस्या अझै गहिरिँदै जाने क्रममा पुराना कुरा बिर्सिने, छोराछोरीको नाम बिर्सने, घरका सदस्य कति जना छन् भन्ने कुरासमेत बिर्सन थाल्ने हुन्छ ।
बिर्सने रोगका कारण
बिर्सने समस्याको प्रमुख कारण मस्तिष्क सुक्नु नै हो । यसका साथै मस्तिष्कमा रगत प्रवाह गर्ने ससाना रक्तनलीमा अवरोध सिर्जना हुन गई मस्तिष्कको महत्वपूर्ण भागमा यथेष्ट मात्रामा रगत नपुगेर मस्तिष्कको कार्यक्षमतामै ह्रास आई बिर्सने समस्या देखा पर्छ ।


सङ्क्रमण, ट्युमर लगायतका कारणले मस्तिष्कभित्रको पानीको मात्रा बढ्न जाँदा त्यसले वरपर दिमागलाई थिचेर पनि बिर्सने समस्या निम्तिन सक्छ । यसका साथै केही भिटामिनको कमीका कारण पनि बिर्सने समस्या निम्तिन्छ । कतिपय अवस्थामा बिर्सने समस्या वंशाणुगत कारणले पनि देखा पर्छ । यसका साथै टाउकोमा चोट लागेमा, टाउकोभित्र पलाएको ट्युमरले वरिपरिको भाग थिचिएमा, त्यस्तो ट्युमर निकाल्ने क्रममा मस्तिष्कको केही अंश निकाल्दा पनि बिर्सने समस्या देखा पर्छ ।
डिमेन्सिया र डेलिरियमबीचको अन्योल
डेलिरियम भन्नाले एक्कासि सिर्जना हुने मानसिक अन्योल वा चेतनामा आएको अस्थायी परिवर्तन हो । यस परिस्थितिमा प्रभावित व्यक्तिले आफ्नो वरिपरिको वातावरण राम्रोसँग बुझ्न सक्दैन, ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ, कुरा बिर्सिन सक्छ, समय र स्थान नचिन्ने हुन सक्छ, अन्टसन्ट कुरा गर्न सक्छ वा काल्पनिक कुरा देखेको वा सुनेको जस्तो अनुभव गर्न सक्छ । यस्तो समस्या केही घण्टा वा केही दिनमै एक्कासि सुरु हुन सक्छ ।
डेलिरियमका लक्षणमा अधिक मात्रामा अन्योल हुने वा झस्किने, एकाग्र हुन नसक्ने, दिनभर मुड बदलिरहने, राति बढी बेचैनी हुने, निदाउन समस्या हुने, कहिले चुप लागेर बस्ने त कहिले निकै उत्तेजित हुने, भ्रम पैदा हुने, डराउने वा नभएको कुरा देख्ने/सुन्ने हुन्छ ।


सङ्क्रमण (विशेषतः मस्तिष्कको), उच्च ज्वरो, शरीरमा पानीका साथै सोडियम एवं क्याल्सियम लगायतका लवणको कमी, कतिपय औषधीको जटिलता, शल्यक्रियालगत्तै एनेस्थेसियाको प्रभाव, मादक पदार्थको ह्याङओभर, मस्तिष्काघात, कलेजो एवं फोक्सोसम्बन्धी गम्भीर समस्या आदिले डेलिरियम हुन सक्छ । यसका अतिरिक्त वृद्ध व्यक्तिमा विशेषतः अस्पतालमा भर्ना भएका बिरामीमा पनि यो समस्या देखिन सक्छ ।
त्यसैले डिमेन्सिया र डेलिरियमबीच भिन्नता छ । डिमेन्सिया विस्तारै बढ्ने जीर्ण खालको समस्या हो भने डेलिरियम एक्कासि उत्पन्न हुन्छ र उपचारपछि ठिक पनि हुन सक्छ ।
सारांशमा भन्नु पर्दा डिमेन्सिया विस्तारै जीर्ण बन्दै जाने स्मरण क्षमता र सोचाइको समस्या हो भने डेलिरियम एक्कासि सुरु हुने एवं अन्योल र एकाग्रताको समस्या हो । डिमेन्सियामा स्मरणशक्ति पहिले प्रभावित हुन्छ भने डेलिरियममा एकाग्रता धेरै प्रभावित हुन्छ ।
डिमेन्सियासँग अल्जाइमर्स, पार्किन्सन्सको सम्बन्ध
अल्जाइमर्स र डिमेन्सियाबीच पनि निकै अन्योल रहेको पाइन्छ तर यी दुई विषय एउटै कुरा होइनन् तर धेरै मात्रामा एक अर्कामा सम्बन्धित छन् ।
अल्जाइमर्स भनेको डिमेन्सियाको एउटा विशेष प्रकार वा सबैभन्दा सामान्य कारण हो । यसलाई सजिलै बुझ्नका लागि डिमेन्सिया भनेको ज्वरो आउनु जस्तै एक प्रकारको लक्षण/चिह्न हो, अल्जाइमर्स चाहिँ ज्वरो निकाल्ने विशेष रोग हो । त्यसै गरी सबै अल्जाइमर्स भएका व्यक्तिमा डिमेन्सिया हुन्छ तर सबै डिमेन्सिया अल्जाइमर्सकै कारणले हुन्छ भन्ने छैन तर पनि करिब ६०–८० प्रतिशत डिमेन्सियाका मामिला अल्जाइमर्सका कारण हुन्छन् ।
अल्जाइमर्समा पनि सुरुमा विशेष गरी हालसालैका कुरा बिर्सिने, एउटै कुरा दोहो¥याएर सोध्ने, सामान कहाँ राखेको बिर्सिने, बाटो बिर्सिने जस्ता समस्या देखिन्छन् । पछि गएर व्यवहार, भाषा, निर्णय क्षमता र दैनिक काम गर्ने क्षमतामा पनि असर पर्न थाल्छ । अल्जाइमर्स हुनाको मुख्य कारण मस्तिष्कमा असामान्य प्रोटिन (एमाइलोइड प्लाक्स र टाउ ट्यान्गल्स) जम्मा हुनु हो ।


त्यसै गरी पार्किन्सन्स डिजिज र डिमेन्सियाबीच केही समानता छ तर यी एउटै कुरा होइनन् । मुख्य भिन्नताको कुरा गर्दा पार्किन्सन्स मुख्य रूपमा मुभमेन्ट अर्थात् शारीरिक चालसम्बन्धी खराबी हो । पार्किन्सन्सको आरम्भतिर हातखुट्टा काम्ने, शरीर कडा हुने, चालमा ढिलाइ हुने, सन्तुलन बिग्रिने, सानो अक्षरमा लेख्ने, अनुहार भावविहीन देखिने हुन्छन् । यी दुईबीचको समानता कुरा गर्दा दुवै मस्तिष्कसम्बन्धी समस्या हुन् भने उपचार नगरेको खण्डमा क्रमशः बिग्रिँदै जाने समस्यामा पर्छन् ।
दुवै वृद्ध उमेरमा बढी देखिन्छन् । समयक्रममा दुवैमा सोचाइ, व्यवहार र दैनिक जीवनमा असर पर्न सक्छ । अर्थात् पार्किन्सन्सका धेरै बिरामीमा धेरै वर्षपछि डिमेन्सिया पनि हुन सक्छ । केही अध्ययन अनुसार पार्किन्सन्स भएका करिब ७५–८० प्रतिशत व्यक्तिमा पछि गएर डिमेन्सिया विकास हुने देखिएको छ ।
सारांशमा पार्किन्सन्समा शारीरिक चाल पहिले बढी प्रभावित हुन्छ भने डिमेन्सियामा स्मरण र कग्निटिभ पहिले बढी प्रभावित हुन्छ । कग्निटिभ अर्थात् नेपालीमा संज्ञानात्मक भन्नाले मस्तिष्कको सोच्ने, बुझ्ने, सम्झने, निर्णय गर्ने, सिक्ने, ध्यान दिने, भाषा प्रयोग गर्ने जस्ता कार्यलाई जनाउँछ ।
डिमेन्सियाको उपचार
डिमेन्सियाको पूर्ण उपचार अहिले उपलब्ध छैन । विशेष गरी अल्जाइमर्स प्रकारको डिमेन्सियामा उपचार हुँदैन तर केही औषधी र हेरचाहले लक्षण कम गर्न, दैनिक काम गर्न सजिलो बनाउन र रोगको प्रगति केही ढिलो गर्न मद्दत पुग्छ ।
स्मरणशक्ति र सोचाइ सुधार गर्नका लागि केही औषधी प्रयोग गरिन्छ । निद्रा, छटपटी, अवसाद, आक्रामक व्यवहार वा भ्रम भएमा त्यही अनुसार थप औषधी पनि दिइन्छ । औषधोपचारका अतिरिक्त परिवारको सहयोग, सुरक्षित वातावरण, नियमित दिनचर्या, घडी, फोटो, नाम लेखिएका वस्तु आदि प्रयोगले प्रभावितलाई सहयोग पुग्छ ।
नियमित व्यायाम, फिजियोथेरापी, सामाजिक सहभागिता, पढ्ने लेख्ने, गीत सुन्ने, पुराना फोटो हेर्ने, स्मरणशक्ति क्षमता बढाउने जस्ता गतिविधिले पनि लाभ दिन्छ ।


रोकथाम
बुढ्यौली उमेर र डिमेन्सियाबीच गहिरो सम्बन्ध भए पनि निम्न तरिकाले बुढ्यौलीमा डिमेन्सियाको जोखिम घटाउन सकिन्छ । अध्ययन अनुसार लगभग ४०–४५ प्रतिशत डिमेन्सियाका मामिलालाई जीवनशैली र कारक तत्व नियन्त्रण गरेर रोकथाम वा ढिलाइ गर्न सकिन्छ ।
केही उपाय
– रक्तचाप, मधुमेह, मोटोपना र कोलेस्टेरोल नियन्त्रण ।
– नियमित व्यायाम ।
– धूमपान र अत्यधिक मदिरा परित्याग ।
– पर्याप्त निद्रा ।
– सामाजिक रूपमा सक्रिय जीवन ।
– पढ्ने, लेख्ने, नयाँ कुरा सिक्ने जस्ता मानसिक गतिविधि गर्ने (सोडुके, कोठेपद भर्ने, चेस खेल्ने आदि) ।
– आवश्यकता अनुसार श्रवणयन्त्र प्रयोग ।
– प्रा.डा. सुमनराज ताम्राकार
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































