05/30/2026, 19:21:33
शनिबार, जेठ १६, २०८३
एएमएस एभरेस्ट टुरिजम अवार्ड २०२६

‘हिमालको संरक्षण विश्वकै साझा दायित्व हो’


काठमाडौँ, जेठ १६ गते। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साझा दायित्व भएको बताउनुभएको छ ।

एएमएस एभरेस्ट टुरिजम अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परिरहेको असरप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणमा विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको हो।

प्रथम राष्ट्रपति यादवले नेपालको भौगोलिक विविधता र सामाजिक एकताको चर्चा गर्दै तराई, पहाड र हिमालको विशिष्ट योगदानले नै राष्ट्रिय पहिचान मजबुत बनेको उल्लेख गर्नुभयो। तराईलाई कृषि र अध्यात्मको केन्द्र, पहाडलाई दृढता र संस्कृतिको धरोहर तथा हिमाली क्षेत्रलाई नेपालको गौरवका रूपमा चित्रण गर्दै उहाँले विविधता नै नेपालको शक्ति भएको बताउनुभयो।

सगरमाथालाई मानवीय साहस, दृढ सङ्कल्प र अन्तर्राष्ट्रिय मित्रताको प्रतीक मान्दै डा. यादवले पर्यटन क्षेत्रले विभिन्न संस्कृति र राष्ट्रहरूबिच आपसी समझदारी अभिवृद्धि गर्ने धारणा राख्नुभयो। पर्यटन नेपालको समृद्धिको मुख्य आधार भएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, ‘नेपालका हिमाल विश्वकै पहिचान हुन्। यसको सुरक्षा र सम्वर्धनका लागि अन्तर्राष्ट्रिय समुदायको ऐक्यवद्धता अपरिहार्य छ। पर्यटनले सीमापारिका मानिसलाई जोड्छ र अवसर सिर्जना गर्छ। तर हामीले हाम्रा संवेदनशील हिमाली पर्यावरण जोगाउने जिम्मेवारीलाई भुल्नु हुँदैन ।

उक्त अवसरमा उहाँले पर्वतारोही, पथप्रदर्शक, उद्धारकर्मी, पर्यटन व्यवसायी र संरक्षणकर्मीको योगदानको कदर गर्दै उनीहरूलाई सम्मानित गर्नुभएको थियो।

विभिन्न देशका कुटनीतिक प्रतिनिधि, पर्यटन क्षेत्रका अगुवा तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागिता रहेको उक्त कार्यक्रममा डा. यादवले विदेशी पाहुनालाई बुद्ध र सगरमाथाको देशमा स्वागत गर्दै नेपाललाई विश्वव्यापी संवाद र दिगो हिमाली विकासको केन्द्रका रूपमा स्थापित गर्न यस्ता मञ्चहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

यस वर्षको प्रतिष्ठित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट दिग्गज पर्वतारोही पेर्टेम्बा शेर्पालाई सम्मानित गरिएको छ। शेर्पाले सन् १९७५ मा दक्षिण–पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण टोलीसँगै पुगेर इतिहास रचेका थिए।

पर्यटन क्षेत्रमा उनले पुर्‍याएको अमूल्य योगदानको उच्च कदर गर्दै पूर्वराष्ट्रपति यादवले उनलाई दोसल्ला ओढाएर, प्रमाणपत्रका साथै ५१ हजार एक सय ५१ रुपियाँ नगद पुरस्कारसहित सम्मानित गर्नुभयो।