05/21/2026, 11:41:19
बिहिबार, जेठ ०७, २०८३
"गैँडा हेर्न नवलपुर जाऔँ"

पोखराको पर्यटनलाई नवलपुरसँग जोड्ने प्रयास

©PHOTO CREDIR : Rhino Spot Resort & The Game Farm- Kalij Farm

नवलपुर, जेठ ७ गते । नवलपुर जिल्ला भौगोलिक दृष्टिले अत्यन्त विविधतापूर्ण छ । दक्षिणतिर तराईको समथर भूभाग, उत्तरतिर पाखापखेरु, हरियाली वनजङ्गलसहितको भूभाग, नदी-नाला रहेका छन् । छेउमै विश्वप्रसिद्ध चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रसहितको जङ्गल तथा मानव बस्ती रहेको सुन्दर क्षेत्रका रूपमा नवलपुर परिचित छ । जसका कारण पर्यटकीय दृष्टिले यो जिल्ला सबैको आँखामा पर्ने गरेको छ ।

यद्यपि यो जिल्ला ओझेलमा परेको जिल्ला हो । पर्याप्त सम्भावना भएर पनि जिल्लामा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन नसकेको पर्यटन व्यवसायीले दाबी गरेका छन् ।

नेपाल भ्रमण गर्ने पर्यटकमध्ये ठुलो हिस्सा गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको छ । त्यहाँ पुग्ने पर्यटकमध्ये पाँच प्रतिशत मात्र पनि नवलपुर ल्याउन सक्ने हो भने जिल्लाका पर्यटकीय विकासमा ठुलो उपलब्धि हुने होमस्टे सञ्चालक ज्ञानबहादुर बोटेको भनाइ छ । उहाँले भन्नुभयो, “नेपाल आउने अधिकांश पर्यटक वन्यजन्तु अवलोकनका लागि आउने गर्छन् तर वन्यजन्तु पर्यटनको केन्द्र चितवनको सौराहालाई मात्र ठानिन्छ । त्यहाँ आएका पर्यटकको केही सङ्ख्या नवलपुर भित्र्याउन सके पनि ठुलो उपलब्धि हुन्थ्यो, त्यो हुन सकेको छैन ।

राष्ट्रिय निकुञ्जको जैविक विविधता, जङ्गल सफारी, थारू र मगर समुदायको मौलिक संस्कृतिले जोकोही पर्यटकलाई सजिलै आकर्षित गर्न सकिने कुरा पर्यटन समिति नवलपुरका अध्यक्ष फन्सराम महतोले बताउनुभयो ।

PHOTO CREDIR : Rhino Spot Resort & The Game Farm- Kalij Farm

यहाँ पाइने एकसिङे गैँडा, बाघ, हरिण, घडियाल मगर गोही तथा सयौँ प्रजातिका चराले नवलपुर जिल्लालाई वन्यजन्तु अवलोकनका लागि अद्वितीय बनाएको उहाँले बताउनुभयो । निकुञ्ज मात्र नभई यहाँका सामुदायिक र मध्यवर्ती क्षेत्रका वनमा समेत जङ्गल छिरेको क्षणभरमा गैँडा, हरिण, मृग लगायतको बथान देख्न सकिन्छ । बाघ अवलोकनका लागि समेत नवलपुर क्षेत्र चर्चित छ । ‘गैँडा हेर्न नवलपुर जाऔँ’ भन्ने नारालाई प्रचार मात्र गर्न सकियो भने पनि यसले यहाँको पर्यटन विकासमा ठुलो टेवा पुग्ने बोटेको भनाइ छ ।

यही उद्देश्यले नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले पोखरालाई नवलपुरको पर्यटनसँग जोड्न विशेष पहल गरेको छ । महासङ्घ गण्डकी प्रदेश कार्यसमितिको आयोजनामा केही दिनअघि प्रदेशका सबै ११ जिल्लाका झन्डै ७० जना पत्रकारलाई नवलपुरको अमलटारी होमस्टेमा भेला गरी ‘गाउँ पर्यटन प्रवर्धनमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तव्रिर्mया गरेको छ ।

PHOTO CREDIR : Rhino Spot Resort & The Game Farm- Kalij Farm

पत्रकारको कलम र सामाजिक सञ्जालबाट नवलपुरको पर्यापर्यटन, जैविक विविधता र वन्यजन्तु पर्यटनको प्रचारप्रसार होस् भन्ने उद्देश्यले सबै पत्रकारलाई जङ्गल सफारी गराइएको नेपाल होमस्टे महासङ्घका राष्ट्रिय अध्यक्ष प्रेम शङ्कर मर्दनीयाले बताउनुभयो ।

blog

विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको एउटा अङ्ग नवलपुर पनि भएकाले वन्यजन्तु पर्यटनका संगसँगै यहाँका रैथाने बोटे, माझी, मुसहर समुदायको रहनसहनलाई पनि पोखरा आउने पर्यटकसँग जोड्नका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको मर्दनीयाको भनाइ छ । सहभागी पत्रकारले पनि नवलपुरको पर्यटन र जङ्गल सफारीका बारेमा सक्दो प्रचार गर्ने प्रतिबद्धता जनाएका छन् ।

– बोमलाल गिरी