आँबुखैरेनी (तनहुँ), वैशाख २४ गते । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अबरुद्ध भएको छ ।
बिहीबार दिउँसो ३:५५ बजे खसेको पहिरोले गदाए राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ । पहिरो पन्छाएर सडक सुचारु गर्नका लागि सशस्त्र प्रहरी बल नेपाल, नम्बर २३ मनकामना गणका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) श्रीराम कुँवरको पहलमा समन्वय र तयारी भइरहेको छ ।


प्रहरी उपरीक्षक कुँवरका अनुसार पहिरो ठूलो भएकाले डोजर र जनशक्ति परिचालन गरी बाटो खुलाउन केही समय लाग्न सक्ने देखिएको छ। सडक अबरुद्ध भएपछि मुग्लिङ हुँदै पोखरा र दमौलीतर्फ जाने तथा राजधानी फर्किने सयौँ यात्रुहरू बीचमै रोकिएका छन् ।
डोजरको सहायतामा पहिरो हटाउने काम तिब्र रुपमा भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयो । सो ठाउँमा बैकल्पिक सडक नहुँदा यात्रुलाई मर्का पर्ने भएकोले पहिरो पन्छाउने काम तिब्र भईरहेको बिक बताउनुहुन्छ ।
– अमरराज नहर्की
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































