04/19/2026, 19:07:35
आइतबार, बैशाख ०६, २०८३

निर्वाचन जित्न अब एल्गोरिदम र ब्ल्याक ह्याटसँग लड्न सक्नुपर्छ : कांग्रेस महामन्त्री पौडेल

नयाँ पोलिटिक्सको भेरिएसन चेन्ज भएको कारणले हामीले आफूलाई पनि परिवर्तन गर्न खोजेका हौँ । ३६४ दिन कांग्रेस हुने तर चाहिएको दिन अरू नै हुने स्कुलिङमा समस्या छ ।


काठमाडौँ, वैशाख ६ गते । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेश र सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै पार्टीलाई प्रविधिमैत्री र साङ्गठनिक रूपमा चुस्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

पौडेलले पार्टीको डिजिटल उपस्थिति र आन्तरिक सङ्गठन सुदृढीकरणका लागि गम्भीर हुन आह्वान गर्नुभएको हो । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अबको चुनाव परम्परागत शैलीबाट मात्र जित्न नसकिने स्पष्ट पार्नुभयो ।

महामन्त्री पौडेलले सामाजिक सञ्जालमा पार्टीको प्रभाव बढाउन केन्द्रको डिजिटल युनिटले गर्ने पोस्टहरूलाई तल्लो तहसम्म पुर्‍याउनुपर्ने बताउनुभयो । यो अभियान पार्टीलाई जिताउन र सङ्गठन विस्तारका लागि भएको उहाँको भनाइ छ । पार्टीका पुराना सदस्यहरूको रेकर्ड व्यवस्थित गर्न बैँकको ‘केवाइसी’ जस्तै सदस्यता अद्यावधिक गर्न लागिएको पौडेलले जानकारी दिनुभयो ।यसले पुराना सदस्यहरूको विवरण राख्न र उनीहरूलाई पार्टीमा सक्रिय बनाउन मद्दत गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

महामन्त्री पौडेलले कतिपय निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यभन्दा कम मत आएको बताउनुभयो । ७०१ सय क्रियाशील सदस्य भएको ठाउँमा जम्मा चार हजार दुई सय मत आउनुलाई उहाँले ‘बेइमानीको पराकाष्ठा’ का रूपमा चित्रण गर्नुभयो । यस्ता समस्या समाधान गर्न सदस्यता नवीकरण र अद्यावधिक अभियान अनिवार्य रहेको उहाँको तर्क थियो । पार्टीका वडा सभापति, क्षेत्रीय र जिल्ला समितिलाई काममा सक्रिय हुन पौडेलले आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसको सदस्य भएर आफ्नै उम्मेदवारलाई भोट नहाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “यदि केन्द्रले गरेको पोस्ट एकैपटक एक लाखले शेयर गर्ने स्थिति बन्यो भने हामीलाई सामाजिक सञ्जालमा कसैले हराउन सक्दैन । अब एल्गोरिदम र ब्ल्याक ह्याटसँग लड्न सक्नुभएन भने चुनाव जित्न कठिन छ । नयाँ पोलिटिक्सको भेरिएसन चेन्ज भएको कारणले हामीले आफूलाई पनि परिवर्तन गर्न खोजेका हौँ । ३६४ दिन कांग्रेस हुने तर चाहिएको दिन अरू नै हुने स्कुलिङमा समस्या छ ।

यसलाई व्यवस्थित गर्न निष्ठावान् र इमानदार सदस्य बनाउने प्रक्रिया अगाडि सारिएको उहाँले बताउनु भयो । काठमाडौँमा यो अद्यावधिक अभियान वैशाख महिनाभित्रै सम्पन्न गर्न उहाँले आह्वान गर्नुभयो । काठमाडौँको सफल म्यासेजले देशभर उत्साह भर्ने उहाँको दाबी छ ।

जिल्ला कार्यालयले नवीकरण गरेका र १५ औँ महाधिवेशनमा इन्ट्री भएका सदस्यहरूको मात्र विवरण अद्यावधिक हुने पनि उहाँले प्रस्ट पार्नुभयो ।