मुक्तिनाथ (मुस्ताङ), चैत ७ गते । हिन्दु तथा बौद्धमार्गीको महत्त्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरमा तीर्थालुको सुविधालाई लक्ष्य गरी मर्मत तथा सुविधा थप्न ढिलाइ भएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ मा अवस्थित मन्दिरमा पूर्वाधार थपका लागि मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार पुरातत्त्व विभागमा प्रस्ताव गरिएको लामो समय बिति सक्दासमेत अनुमति नदिइएकाले काम हुन नसकेको हो ।

बर्सेनि लाखौँ हिन्दु तथा बौद्ध धर्मावलम्बी पुग्ने मन्दिरको १०८ धारामा उचाइ बढाउने, कपडा परिवर्तन गर्ने स्थान, शौचालय निर्माण, विशिष्ट व्यक्तिका लागि कक्ष, मन्दिरमा प्रवेश र बाहिरिने बाटो विस्तार, पर्खाल निर्माण, बर्सात र हिमपातको समयमा ओत लाग्ने घर, बगैँचा, गुम्बा मर्मत, मन्दिरको माथिल्लो क्षेत्रको संरक्षण लगायतका प्रस्ताव गरिए पनि अनुमति नपाएकाले रोकिएको वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष एवं मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मन्दिरको बाहिरी क्षेत्रमा पर्याप्त संरचना नहुँदा तीर्थालुलाई असहज भइरहेको छ । पुरातत्व विभागबाट स्वीकृति दिइएको छैन, स्वीकृति पाएलगत्तै काम अगाडि बढाउँछाैँ ।” मन्दिरमा एकै पटक ५० हजार तीर्थालुले दर्शन गर्ने आवश्यक संरचना बनाउन समितिले निरन्तर पहल गरिरहेको छ । करिब नौ करोड रुपियाँको लागत बराबरको संरचना थप्न प्रस्ताव गरिएको छ ।

मन्दिरपछाडि रहेका धारामा स्नान गर्ने क्रममा तीर्थालुको टाउको र निधारमा चोट लाग्ने समस्यालाई समाधान गर्न धाराको उचाइ बढाउनेसहितका संरचनाका लागि साधारण सभाबाटै निर्णय गरिएको कोषाध्यक्ष गुरुङले बताउनुभयो । पुरातात्त्विक तथा धार्मिक क्षेत्रमा नयाँ संरचना थप तथा पुनर्निर्माणको काम गर्दा पुरातत्त्व विभागसँगको अनुमतिबिना काम गर्न पाइँदैन ।
प्रमुख जिल्ला अधिकारी अजिता शर्मा अध्यक्ष रहेको समितिमा सरकारी निकाय, स्थानीय गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधिको टोलीले पुरातत्त्व विभागमा समेत पुगेर प्र्रस्तावित योजनाको डिजाइनलाई स्वीकृति दिन अनुरोध गरेको छ ।
विभागबाट अनुमति आएलगत्तै निर्माणको काम तीव्र रूपमा अघि बढाउने मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जमिनमाथि र जमिनमुनि रहेका ऐतिहासिक संरचनामा कुनै असर नगर्ने तथा पुरातात्त्विक र ऐतिहासिक महत्त्वको स्वरूपलाई समेत परिवर्तन हुन नदिने गरी संरचना थप गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।

मन्दिरको महिमालाई कायम राख्ने गरी संरचना बनाउन वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला समन्वय समिति, सहरी विकास तथा भवन डिभिजन कार्यालयसहितको सहभागितामा पूर्वाधार निर्माण उपसमितिसमेत बनाइएको छ ।
मन्दिरबाहिर र भित्र राखिएका पाँच वटा दानपेटिका एवं नगद रसिद काटेर गरिएको दान सङ्कलन गरी मन्दिरपरिसरमा १०८ धारा र कुण्डमा तीन हजार १४० वर्ग फिट ढुङ्गा बिछ्याइएको छ । दुई सय लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने विद्युतीय पानी भण्डार र स्नान स्थल सुरक्षित बनाउन घेराबार निर्माण गरिएको छ । कागबेनी, दामोदरकुण्ड लगायतका क्षेत्रमा समेत भौतिक संरचना बनाउन सहयोग गरिएको छ ।

विसं २०६३ मा समिति गठन भएपछि मन्दिरको विकास, संरक्षण, व्यवस्थापन र भक्तजनले दान गरेको रकम सही सदुपयोग भइरहेको छ । यहाँ नेपाली तथा विदेशी तीर्थालु र तेस्रो मुलुकबाट आउने पर्यटक गरी वार्षिक करिब आठ लाख व्यक्तिको आगमन रहेको छ । मन्दिरमा नेपालीपछि सबैभन्दा धेरै भारतीय तीर्थालु आउने गरेको तथ्याङ्कले देखाउँछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
