09/19/2026, 10:24:08
शनिबार, असोज ०३, २०८३

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ: रास्वपा सभापति रवि लामिछाने


काठमाडौँ, असोज ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै संविधानको समीक्षा समाजका पिँधमा रहेका नागरिकहरूलाई केन्द्रमा राखेर गरिनुपर्ने बताउनुभएको छ।

संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गर्दै उहाँले संविधान प्रदत्त मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बन्न सकेमा मात्र लोकतन्त्रको स्थायित्व सिद्ध हुने स्पष्ट पार्नुभयो।

सभापति लामिछानेले संविधान एक जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसका अन्तर्वस्तु परिष्कृत र संशोधन हुन सक्ने बताउनुभयो।

नेपालको परिप्रेक्ष्यमा आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने अभिभारा अझै पूरा हुन नसकेको भन्दै उहाँले बेथिति र कमजोरी सच्याएर लोकतन्त्र र समावेशितालाई थप मजबुत बनाउन विवेकपूर्ण बहस आवश्यक रहेकोमा जोड दिनुभयो।

साथै, बलियो राज्य निर्माणका लागि बलिया संस्थाहरूको आवश्यकता पर्ने उल्लेख गर्दै उहाँले संविधान दिवसले सम्पूर्ण राजनीतिक शक्ति, राज्यका अङ्ग र नागरिकहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

सभापति लामिछानेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना दिँदै संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।