09/10/2026, 21:08:36
बिहिबार, भदौ २५, २०८३

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली टोलीको नेतृत्व गर्ने, मन्त्रिपरिषद्का ७ मुख्य निर्णय सार्वजनिक


काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले आगामी असोज ६ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउने भएको छ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त भ्रमण स्वीकृत गर्नुका साथै भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आईजीएससी) बैठकका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

बैठकले अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ। साथै, भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने निर्णय समेत भएको छ।

यसैगरी, शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल तथा सदस्यहरूमा रामशरण सापकोटा र विष्णु घिमिरे रिमाललाई नियुक्त गरिएको छ। प्रशासनिक निर्णयतर्फ सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिव पदमा बढुवा गरी क्रमशः लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।