09/08/2026, 17:30:48
मङ्गलबार, भदौ २३, २०८३

इन्धनको मूल्य दोब्बर : अत्यधिक खपत गर्नेहरू प्रभावित, महँगी अझै बढ्ने चिन्ता


तेहरान, भदौ २३ गते । चुलिँदो आर्थिक सङ्कटका बिच इरान सरकारले अत्यधिक पेट्रोल खपत गर्ने उपभोक्ताका लागि इन्धनको मूल्य दोब्बर बनाएको छ।

मङ्गलबारदेखि लागू भएको नयाँ नियम अनुसार अब मासिक ११० लिटरको तोकिएको कोटाभन्दा बढी पेट्रोल खरिद गर्ने उपभोक्ताले प्रतिलिटर एक लाख रियाल तिर्नुपर्नेछ। गत डिसेम्बरयता गरिएको यो दोस्रो मूल्यवृद्धि भए पनि सरकारले यसबाट सङ्कलन हुने अतिरिक्त रकम सर्वसाधारण घर-परिवारलाई सहयोग स्वरूप उपलब्ध गराइने जनाएको छ।

इरानमा अझै पनि पेट्रोलको मूल्य विश्वकै न्यूनमध्ये पर्छ, तर लगातार कमजोर बन्दै गएको स्थानीय मुद्रा र घट्दो क्रयशक्तिका कारण यो वृद्धिले सर्वसाधारणमाथि थप आर्थिक दबाब सिर्जना गरेको छ। राज्य तेल वितरण कम्पनीका प्रमुख कार्यकारी केरामत वेस करामीका अनुसार नयाँ मूल्यदरले देशका करिब १५ प्रतिशत उपभोक्तालाई प्रत्यक्ष असर पार्नेछ।

हाल इरानमा पेट्रोलको उत्पादनभन्दा खपत दर निकै उच्च रहेको छ। अगस्ट महिनामा दैनिक पेट्रोल खपत १४ करोड ५० लाख लिटर पुगेको थियो, जबकि देशको घरेलु उत्पादन क्षमता १२ करोड २० लाख लिटर मात्र छ। विज्ञहरूका अनुसार पुराना तथा धेरै इन्धन खपत गर्ने सवारीसाधन र कमजोर सार्वजनिक यातायात प्रणालीका कारण माग धान्न धौ-धौ परेको हो।

वार्षिक मुद्रास्फीति करिब ६७ प्रतिशत पुगिसकेको अवस्थामा पेट्रोलको यो मूल्यवृद्धिले बजारमा खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको मूल्यसमेत थप बढाउने तेहरानका बासिन्दाहरूले चिन्ता व्यक्त गरेका छन्।

सन् २०१९ मा पेट्रोलको मूल्य बढाउँदा देशव्यापी ठूलो विरोध प्रदर्शन भएको सन्दर्भलाई स्मरण गर्दै यो कदमले सर्वसाधारणको दैनिक जीवन अझ जटिल बनाउने स्थानीयहरूको भनाइ छ।