09/08/2026, 16:17:44
मङ्गलबार, भदौ २३, २०८३

‘जेन-जी’ आन्दोलन स्वस्फूर्त जागरण हो, कसैले राजनीतिक औजार नबनाओस् : रवि लामिछाने


काठमाडौँ, भदौ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताउनुभएको छ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले ठीक एक वर्षअघि भएको ‘जेन-जी’ आन्दोलन कुनै दल विशेषको आह्वानमा नभई भ्रष्टाचार, दलीय भागबन्डा र निराशाविरुद्धको पूर्णतः स्वस्फूर्त जागरण भएको स्पष्ट पार्नुभयो। उहाँले कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्न नहुने चेतावनी दिनुभएको छ।

आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा स्मरण गर्दै लामिछानेले परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण भएको उल्लेख गर्नुभयो।

एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई भाद्र २३ र २४ गते देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्,” विज्ञप्तिमा भनिएको छ। उहाँले नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजका लागि जीवन गुमाउने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अब परिवर्तनका लागि कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्नुभएको छ।

आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएकाहरूप्रति सम्मान व्यक्त गर्दै सभापति लामिछानेले राज्यले उनीहरूको पूर्ण उपचार, उचित हेरचाह र दीर्घकालीन पुनःस्थापनाको दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

साथै, उहाँले सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायलाई सरकार तथा नेतृत्वको रचनात्मक खबरदारी गर्न र कार्य सम्पादनको निर्मम समीक्षा निरन्तर जारी राख्न अनुरोध गर्नुभएको छ।

नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबैलाई एकताबद्ध हुन आह्वान गर्दै उहाँले आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिने प्रतिबद्धता जनाउनुभयो। ‘जेन-जी’ आन्दोलनको आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने दृढ सङ्कल्प रास्वपा सभापति लामिछानेले व्यक्त गर्नुभएको छ।