09/07/2026, 21:57:53
सोमबार, भदौ २२, २०८३

होर्मुज जलसन्धिमा अमेरिकी सैन्य अभियानमा सहभागी नलगाउन इरानको दक्षिण कोरियालाई चेतावनी


तेहरान, भदौ २२ गते। इरानले होर्मुज जलसन्धिमा अमेरिकी नेतृत्वको सैन्य अभियान वा तैनाथीमा सहभागिता जनाउनेतर्फ दक्षिण कोरियालाई कडा चेतावनी दिएको छ। इरानको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो कदमले गम्भीर परिणाम निम्त्याउन सक्ने स्पष्ट पारेको हो।

रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने होर्मुज जलसन्धिमा सुरक्षा कायम गर्ने अमेरिकी प्रयासमा योगदान पुर्‍याउने विषयमा विचार गरिरहेको दक्षिण कोरियाले जनाएपछि इरानको यो प्रतिक्रिया आएको हो।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले दक्षिण कोरियालाई अमेरिकी दबाब र धम्कीका अगाडि नझुक्न आग्रह गर्दै, फारसी खाडी वा होर्मुज जलसन्धिमा हुने कुनै पनि बाह्य सैन्य तैनाथीलाई आक्रामकताको प्रत्यक्ष समर्थनका रूपमा लिइने चेतावनी दिनुभएको छ।

गत फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध सुरु भएयता इरानले यस क्षेत्रमा ठूलो हदसम्म नियन्त्रण कायम राख्दै आएको छ। अप्रिलमा भएको युद्धविरामपछि तीव्र बमबारी रोकिए पनि इरान र अमेरिकाबीच होर्मुज जलसन्धि र आसपासका क्षेत्रमा तनाव जारी छ।

विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानी हुने यो जलमार्गमा जहाज आवत-जावत ठप्प हुँदा विश्वव्यापी ऊर्जा बजारसमेत प्रभावित भएको छ।