

वीरगन्ज, भदौ ५ गते । गत साउन महिनामा मात्रै नेपालमा ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। नेपाल आयल निगमका अनुसार पछिल्लो पाँच महिना (चैतदेखि साउन) मध्ये साउनमा सबैभन्दा बढी ग्यास आयात भएको हो। साउन महिनामा मात्रै देशभर ४० लाख ३६ हजार ३६४ थान ग्यास सिलिन्डर बिक्रीवितरण भएको निगमका निर्देशक विनीतमणि उपाध्यायले जानकारी दिनुभयो, जुन असारको तुलनामा करिब नौ लाख सिलिन्डर बढी हो।
देशको कुल ग्यास आयातको झन्डै ६० प्रतिशत ओगट्ने वीरगन्ज नाका भएर मात्रै साउनमा १,६२२ वटा ग्यास बुलेट भित्रिएका छन्, जुन अघिल्लो वर्ष (२०८२ साउन) को तुलनामा ३३५ बुलेट बढी हो। नेपाल आयल निगम वीरगन्ज कार्यालयका अनुसार यी बुलेटहरूबाट भित्रिएको ग्यासले २१ लाख ११ हजारभन्दा बढी सिलिन्डर भर्न सकिन्छ। साउनमा नेपाल ग्यास उद्योगले सबैभन्दा बढी १२९ बुलेट र सगरमाथा ग्यासले ११७ बुलेट भित्र्याएका हुन्।
आयल निगमका अनुसार यसअघि आधा सिलिन्डर ग्यास वितरण गर्दा सर्वसाधारणले घरमा सिलिन्डरको सङ्ख्या बढाएका र पूरा सिलिन्डर वितरण हुन थालेपछि सबै सिलिन्डर भर्न खोज्दा बजारमा केही माग बढेको देखिएको हो। भारतको बरौनी, परादीप तथा दुर्घटना अघिसम्म दुर्गापुर र हल्दिया रिफाइनरीबाट ग्यास बुलेटहरू भित्रिइरहेको र आपूर्ति निर्बाध रूपमा जारी रहेकाले आवश्यकता अनुसार मात्र खरिद गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























