08/16/2026, 08:54:46
आइतबार, साउन ३१, २०८३

नेपाल टेलिकमको नाफामा उल्लेख्य वृद्धि: एकै वर्षमा कमायो ८ अर्ब ८६ करोड बढी खुद नाफा


काठमाडौँ, साउन ३१ गते । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल टेलिकमको खुद नाफामा उल्लेख्य सुधार आएको छ। टेलिकमले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४७.५८ प्रतिशतले बढेर आठ अर्ब ८६ करोड ४६ लाख रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा छ अर्ब ६७ लाख रुपियाँ मात्र रहेको खुद नाफामा यस वर्ष दुई अर्ब ८५ करोड ७९ लाख रुपियाँको बढोत्तरी भएको हो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानीमा पनि सकारात्मक सुधार देखिएको छ। टेलिकमले गत वर्ष कुल ३९ अर्ब १९ करोड रुपियाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा एक अर्ब एक करोड रुपियाँले बढी हो। यद्यपि, बजारमा ब्याजदर घट्दा कम्पनीको ब्याजबाट हुने आय भने ८६ करोड १९ लाख रुपियाँले घटेको वित्तीय विवरणमा उल्लेख छ।

नाफासँगै कम्पनीको करअघिको आम्दानीमा पनि ठूलो वृद्धि भएको छ। गत आर्थिक वर्षमा टेलिकमले करअघि १३ अर्ब २६ करोड ४७ लाख रुपियाँ नाफा आर्जन गरेको छ। यो आम्दानी अघिल्लो आर्थिक वर्षको करअघिको नाफाको तुलनामा ३४.६६ प्रतिशतले बढी हो, जसले कम्पनीको व्यावसायिक कार्यकुशलतामा आएको सुधारलाई स्पष्ट पार्छ।