वीरगन्ज (पर्सा), साउन २२ गते । नेपाल आयल निगम वीरगन्ज कार्यालयका अनुसार केही दिनदेखि बजारमा खाना पकाउने ग्यासको अस्थायी अभाव देखिए पनि वीरगन्ज नाका भएर भित्रिने ग्यास बुलेटको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।
साउन १ देखि २० गतेसम्मको अवधिमा मात्रै ९७९ वटा ग्यास बुलेट भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा १२० वटाले बढी हो। मुलुकको झन्डै ६० प्रतिशत ग्यास आपूर्ति हुने यो नाकाबाट अहिले निर्बाध रूपमा ग्यास बुलेटहरू भित्रिरहेका छन्।
नेपाल ग्यास, सगरमाथा, नोबेल, बाबा, जानकी र एभरेस्ट लगायतका प्रमुख उद्योगहरूले नियमित रूपमा ग्यास आयात गरिरहेका छन्। साउनको २० दिनमै थप ८२२ बुलेट आयातका लागि पिडिओ (प्रोडक्ट डेलिभरी अर्डर) दिइसकिएको र अन्य ८८ वटाको पनि दुई दिनभित्रै पिडिओ दिने तयारी छ।


बजारमा ग्यास नपाइने हल्लाका कारण उपभोक्ताहरूले घरमा भएका सबै सिलिन्डर एकैपटक भरेर राख्न खोज्दा केही असहजता देखिए पनि आपूर्ति प्रणाली सहज रहेकाले नआत्तिन आयल निगमले सर्वसाधारणलाई आश्वस्त पारेको छ।
यसैबिच, बजारमा हुने कालोबजारी र अनियमितता रोक्न जिल्ला प्रशासन कार्यालय पर्सा र आयल निगमको संयुक्त टोलीले अनुगमनलाई तीव्रता दिएको छ। सोही क्रममा वीरगन्ज–१८ स्थित सुपर ग्यास उद्योगले सोझै उपभोक्तालाई बिल-बीजक जारी नगरी ग्यास बिक्री गरेको फेला परेपछि टोलीले २० हजार रुपियाँ जरिबाना गराएको छ। साथै, उद्योगहरूलाई ग्यासको दैनिक आयात–निर्यातको विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिइएको छ।


ग्यास भित्र्याउने मुख्य उद्योगहरू
साउनको २० दिनमा सबैभन्दा बढी ग्यास भित्र्याउने उद्योगहरू:
नेपाल ग्यास: ८३ बुलेट
सगरमाथा ग्यास: ७२ बुलेट
नोबेल ग्यास: ५७ बुलेट
बाबा ग्यास: ५१ बुलेट
जानकी ग्यास: ५० बुलेट
एभरेस्ट ग्यास: ४२ बुलेट
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































