08/04/2026, 21:16:51
मङ्गलबार, साउन १९, २०८३

एलपी ग्यासको कालोबजारी रोक्न ट्र्याकिङ प्रणाली लागू गर्न सांसद रहबर अन्सारीको माग


काठमाडौँ, साउन १९ गते । एलपी ग्यासको कालोबजारी नियन्त्रण गर्न र नेपाल आयल निगमको घाटा अन्त्य गर्न प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली तत्काल लागू गर्न उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं सांसद रहबर अन्सारीले माग गर्नुभएको छ।

संसदीय समितिको बैठकमा बोल्दै सांसद अन्सारीले देशभर रहेका करिब १ करोड ७५ लाख ग्यास सिलिन्डरको म्यापिङ र ट्र्याकिङ (आरएफआईडी वा बारकोड प्रविधि) गर्न सरकारसँग आग्रह गर्नुभयो। भारतबाट पर्याप्त आपूर्ति भए पनि सिलिन्डर लुकाउने र कालोबजारी गर्ने नियतका कारण बजारमा कृत्रिम अभाव सिर्जना भएको उहाँको भनाइ छ।

साथै, ठूला उद्योग तथा होटलहरूले घरायसी प्रयोजनका लागि दिइने १४.२ किलोग्रामको अनुदानित ग्यास प्रयोग गर्दा राज्यलाई वार्षिक साढे सात अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको खुलासा गर्दै उहाँले व्यावसायिक प्रयोजनका लागि छुट्टै दररेट र फरक क्षमताका सिलिन्डर प्रयोगमा ल्याउन जोडदार माग गर्नुभयो।