08/17/2026, 07:12:36
सोमबार, भदौ ०१, २०८३

सप्तरीमा ‘ज्वाइन्ट अपरेसन सेल’ सक्रिय: भ्रामक सूचना सम्प्रेषण गर्नेहरूमाथि निगरानी र कारबाही तीव्र

सामाजिक सञ्जालमा भ्रामक र उत्तेजक सामग्री पोस्ट गर्ने तीन जना सप्तरीबाट नियन्त्रणमा


सप्तरी, साउन १९ गते । सामाजिक सञ्जालमा उत्तेजक भिडियो तथा भ्रामक सूचना सम्प्रेषण गरेको अभियोगमा सप्तरी प्रशासनले तीन जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालयले शाखा अधिकृत सन्तोष रायको संयोजकत्वमा ‘ज्वाइन्ट अपरेसन सेल‘ गठन गरी यस्ता गतिविधिमाथि निगरानी बढाएको हो।

निगरानीका क्रममा नियन्त्रणमा लिइएका तिरहुत गाउँपालिका–४ का २३ वर्षीय जफिर मियाँ र रूपनी गाउँपालिका–१ का ३९ वर्षीय मुकेश यादवलाई सम्झाइ-बुझाइ छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिनुभयो। राजविराज नगरपालिका–६ का २० वर्षीय छोटुकुमार मेस्तरलाई भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ।

प्रशासनका अनुसार सामाजिक सञ्जालमा उत्तेजक सामग्री पोस्ट गर्ने अन्य १० जनाको पहिचान भएको छ, जसमध्ये वैदेशिक रोजगारीमा टर्की र कतारमा रहेका दुई जनासमेत रहेका छन्। पहिचान भएका अन्य व्यक्तिहरूलाई भने उनीहरूले पोस्ट गरेका आपत्तिजनक सामग्री हटाउन लगाइएको छ।