08/03/2026, 08:01:06
सोमबार, साउन १८, २०८३

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि


काठमाडौँ, साउन १८ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आजदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ ।

निगमले पेट्रोल प्रतिलिटर तीन, डिजेल र मट्टितेल पाँच रुपियाँले वृद्धि गरेको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ २० र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ ।

इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा २० रुपियाँ १९ पैसा, डिजेलमा ३९ रुपियाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपियाँ छ पैसा बढेर आएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर २०० पुगेको छ । सुर्खेत र दाङमा १९९ कायम भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपियाँ ५० पैसा पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर १९७ र डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपियाँ रहेको थियो । पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा एक अर्ब ४९ करोड बराबरको घाटा हुने जारी विज्ञप्तिमा उल्लेख छ ।