08/17/2026, 07:10:14
सोमबार, भदौ ०१, २०८३

मलेसिया रोजगारीमा सिन्डिकेट गराउन लागिएको समाचारको श्रम मन्त्रालयद्वारा खण्डन


काठमाडौँ, साउन १९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा श्रमिक पठाउँदा निश्चित वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी सरकारकै मिलेमतोमा सिन्डिकेट गराउन लागिएको भन्ने समाचारको खण्डन गरेको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले लगाएको आरोप र विभिन्न सञ्चार माध्यममा आएका समाचारमा कुनै सत्यता नभएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “विगत केही दिनयता विभिन्न सञ्चार माध्यम मन्त्रालयलाई समेत जोडी मलेसियामा श्रमिक पठाउनका लागि निश्चित वैदेशिक रोजगार व्यवसायीलाई फाइदा पुग्ने गरी सिन्डिकेट गराउने गरी चलखेल भएको भनिएको छ । यसमा कुनै सत्यता छैन ।

मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार वैदेशिक रोजगारीलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र श्रमिकमैत्री बनाउन सरकार सदैव प्रतिबद्ध छ। कुनै पनि बहानामा प्रतिस्पर्धालाई सीमित तुल्याउने वा सीमित व्यवसायीको एकाधिकार हुन नदिन मन्त्रालय सचेत रहेको र विद्यमान नीतिगत तथा कानुनी सुधारका काम भइरहेको अवस्थामा यस्ता भ्रामक अफवाहको पछि नलाग्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ।