08/04/2026, 07:44:29
मङ्गलबार, साउन १९, २०८३

एलपी ग्यास अभाव बढेपछि बजार अनुगमन, उद्योग र फर्महरूलाई कडा निर्देशन


काठमाडौँ, साउन १९ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ११ वटा उद्योग तथा व्यवसायी फर्महरूमा बजार अनुगमन गरेको छ । केही दिनयता खाना पकाउने एलपी ग्यासको अभाव भएको जनगुनासो बढेपछि विभागले ग्यास उद्योग र डिलरहरूमा केन्द्रित भई अनुगमन टोली परिचालन गरेको हो ।

अनुगमनका क्रममा पेप्सीकोलास्थित सगरमाथा ग्यास उद्योगलाई ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न र डल्लुको ‘सिम्रन ग्यास स्टोर’ तथा चण्डिनीनगरको ‘युवा इन्टरप्राइजेज’लाई समानुपातिक रूपमा ग्यास बिक्री-वितरण गर्न निर्देशन दिइएको छ । यस्तै, ललितपुरको ‘उमङ्ग इन्टरप्राइजेज’ र ‘सरस्वती खाद्य किराना पसल’लाई अनिवार्य बिल जारी गरी बिक्री-वितरण गर्न भनिएको छ ।

यसैगरी, भक्तपुरको राधेराधेस्थित ‘दी बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन’लाई खरिद बिल नराखेको कसुरमा रु. ५ हजार जरिबाना गरिएको छ भने भैँसेपाटीको ‘हेल्दी बाइट्स सर्भिसेस’लाई आवश्यक व्यावसायिक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अन्य ग्यास प्रयोगकर्ता होटल तथा खाजा घरहरूलाई पनि सरसफाइ, मूल्यसूची र नापतौल व्यवस्थित गर्न सचेत गराइएको विभागले जनाएको छ ।