

मुस्ताङ, साउन १८ गते । अत्यधिक वर्षा र बाढी-पहिरोको उच्च जोखिमका कारण जोमसोम–बेनी राष्ट्रिय राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा कडाइ गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले म्याग्दीसँग समन्वय गर्दै आइतबार र सोमबार साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म थासाङ गाउँपालिका–४ घाँसा नाकाबाट सवारीसाधन आवतजावतमा रोक लगाएको छ। कुल ७६ किलोमिटर लामो जोमसोम–बेनी सडकखण्डमध्ये करिब २२ किलोमिटर क्षेत्र बाढी तथा पहिरोको उच्च जोखिममा रहेको छ।


पदयात्रामा रोक र पर्यटक सुरक्षा:
हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले उक्त अवधिमा पदयात्रामा ननिस्कन आग्रह गरिएको छ। साथै, अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पास पार गरी मनाङबाट मुस्ताङ आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै छिमेकी जिल्लाहरूसँग समन्वय गरिएको छ।
गण्डकी प्रदेशमा साउन १७ र १८ गते भारी वर्षाको सम्भावना रहेकाले मौसमको अवस्था हेरेर प्रतिबन्धको समय थप्न सकिने प्रशासनले जनाएको छ। निर्णयको अवज्ञा गर्ने सवारीसाधनलाई कारबाही गरिनेछ। कालीगण्डकी करिडोरअन्तर्गत पर्ने मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्की जिल्लासँग समन्वय गरी सीमा क्षेत्रमा प्रहरीमार्फत सवारी आवागमन नियन्त्रण गरिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























