07/26/2026, 07:57:17
आइतबार, साउन १०, २०८३

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय ‘सडेस्को’ मेक अप र ब्युटीको डिप्लोमा परीक्षा आयोजना

१७ जना विद्यार्थी सहभागी; लिखित र प्रयोगात्मक परीक्षाका लागि वैदेशिक परीक्षक नेपालमा, साउन १२ गते दीक्षान्त समारोह हुने


काठमाडौँ, साउन १० गते । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘सडेस्को‘ (CIDESCO) मेक अप र ब्युटीको डिप्लोमा परीक्षा आयोजना भएको छ । आइसास ब्युटी स्कुलको व्यवस्थापनमा सञ्चालित उक्त परीक्षामा मेकअपतर्फ ८ र ब्युटीतर्फ ९ गरी कुल १७ जना विद्यार्थी सहभागी छन् ।

विश्वका ४० भन्दा बढी देशमा उच्च मान्यता पाएको सडेस्कोको सैद्धान्तिक परीक्षा सम्पन्न भइसकेको छ भने प्रयोगात्मक परीक्षा साउन ११ र १२ गते हुँदैछ। अन्तर्राष्ट्रिय परीक्षकहरूद्वारा प्रत्यक्ष मूल्याङ्कन गरिने यस परीक्षा पछि साउन १२ गते द एभरेस्ट होटलमा दीक्षान्त समारोह आयोजना गरिनेछ ।

‘‘नेपालमा पहिलो पटक सडेस्को परीक्षा आयोजना हुनु केवल एउटा शैक्षिक कार्यक्रम मात्र होइन, यो नेपाली सौन्दर्य शिक्षाको अन्तर्राष्ट्रियकरणतर्फको ऐतिहासिक यात्रा हो। अब नेपाली विद्यार्थीले विदेश नगई विश्वभर मान्यता प्राप्त डिप्लोमा आफ्नै देशबाट हासिल गर्न सक्नेछन् ।’’
– अजय अधिकारी
प्रमुख कार्यकारी अधिकृत (सिईयो), आइसास ब्युटी स्कुल

यसअघि सडेस्कोको प्रमाणपत्र लिन नेपाली विद्यार्थी विदेश जानुपर्ने बाध्यता रहेकोमा अब स्वदेशमै विश्वस्तरीय सौन्दर्य शिक्षा र प्रमाणपत्र प्राप्त गर्ने बाटो खुलेको छ।

विश्वकै प्रतिष्ठित सौन्दर्य शिक्षा तथा व्यावसायिक योग्यताको मापदण्ड निर्धारण गर्ने संस्था सडेस्कोले आफ्नो स्थापनाको ८० वर्ष पूरा गरेको छ । आठ दशकको यात्रा पूरा गरेको अवसरमा संस्थाले विश्वभरका सिडेस्को मान्यता प्राप्त विद्यालयहरूको सहभागितामा विशेष सिडेस्को कंग्रेस आयोजना गर्दैछ।

तीन दिनसम्म चल्ने उक्त अन्तर्राष्ट्रिय सम्मेलन यस वर्ष फिजी मा आयोजना हुनेछ । सडेस्कोलाई विश्वभर ४० भन्दा बढी देशमा मान्यता प्राप्त सौन्दर्य शिक्षाको उच्चतम मापदण्डका रूपमा लिइन्छ । यसको पाठ्यक्रम, प्रशिक्षण र मूल्याङ्कन प्रणाली अन्तर्राष्ट्रिय स्तरका कडा मापदण्डमा आधारित छ ।

सडेस्को डिप्लोमा प्राप्त गर्न परीक्षार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवै परीक्षामा कम्तीमा ७० प्रतिशत अङ्क अनिवार्य रूपमा हासिल गर्नुपर्ने व्यवस्था छ । ६९ प्रतिशत अङ्क प्राप्त गर्ने परीक्षार्थीलाई समेत अनुत्तीर्ण मानिने भएकाले सिडेस्कोको मूल्याङ्कन प्रणालीलाई विश्वकै कडा र गुणस्तरीयमध्ये एक मानिन्छ ।