07/24/2026, 09:24:47
शुक्रबार, साउन ०८, २०८३

कक्षा १२ को नतिजामा देखिएन त्रुटि


काठमाडौँ, साउन ८ गते । कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सम्बन्धमा हाल रहेको व्यवस्थामा सुधार गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिले सुझाव दिएको छ ।

कक्षा १२ को नतिजा प्रकाशनमा असन्तुष्टि जनाउँदै विद्यार्थी आन्दोलनमा उत्रेपछि त्यसबारे अध्ययन गर्न मन्त्रालयले असार ११ गते मन्त्रालयकै उपसचिव रमा खतिवडाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

समितिलाई उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण एवं परीक्षा अङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न भनिएको थियो र समितिले कार्यादेश अनुसार काम गर्‍यो ।

दुई साता अध्ययन गरेर समितिले असार ३० गते मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणमा लापर्बाही भएको पुष्टि हुन नसकेको निष्कर्ष निकालेको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिनुभयो । प्रतिवेदन शिक्षा सचिव चूडामणि पौडेललाई बुझाइएको छ ।