07/21/2026, 11:04:24
मङ्गलबार, साउन ०५, २०८३

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने


काठमाडौँ, साउन ४ गते । सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।

मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरुको बैठकले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिन थालिए पश्चात साविकमा रहेका अन्य सार्वजनिक बिदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालय को प्रतिनिधि रहने र उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने मुख्यसचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान भएका विधेयकको मस्यौदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयले शीघ्र प्रारम्भ गर्ने बैठकको निर्णय छ । बैठकले धेरै पुराना, असान्दर्भिक र कार्यसम्पादनमा बाधा पुर्‍याउने खालका कानुनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..