07/16/2026, 11:47:18
बिहिबार, असार ३२, २०८३

व्यक्तिगत रूपमै केयरगिभर र कृषि श्रमिक लैजान इजरायल इच्छुक, लगानीका लागि खोज्यो कानुनी स्पष्टता

इजरायली व्यवसायी नेपालमा लगानी गर्न इच्छुक; दोहोरो कर छुट र मुनाफा लैजान सक्ने कानुनी स्पष्टताको खोजी।


काठमाडौँ, असार ३१ गते । कृषि तथा हेरचाह (केयर गिभिङ) क्षेत्रमा थप नेपाली कामदार लैजान इजरायलले इच्छा देखाएको छ । नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले अब सरकारी (जीटुजी) माध्यमका अतिरिक्त व्यक्तिगत रूपमै नेपाली श्रमिक लैजाने चाहना रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठसँग मङ्गलबार भएको भेटघाटमा राजदूत बासले नेपाली महिला श्रमिकका लागि इजरायल सुरक्षित गन्तव्य भएको र भविष्यमा श्रम सहकार्यलाई अझ विस्तार गरिने उल्लेख गर्नुभयो ।

blog

भेटमा राजदूत बासले इजरायल नेपालमा लगानी गर्न समेत इच्छुक रहेको तर यसका लागि इजरायली व्यवसायीले लगानीको सुरक्षा, दोहोरो कर छुट तथा मुनाफा फिर्ता लैजान सक्ने कानुनी स्पष्टता खोजेको बताउनुभयो । उहाँले सिमेन्ट, जडीबुटी, चिया, कृषि र प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य गर्न इजरायल तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

महासङ्घका अध्यक्ष श्रेष्ठले व्यक्तिगत रूपमा केयरगिभर र कृषि क्षेत्रमा श्रमिक लैजाने इजरायलको चाहनाले नेपाली युवाका लागि थप अवसर सिर्जना गर्ने बताउनुभयो । उहाँले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको भन्दै आर्थिक सहकार्य विस्तारका लागि सन् १९९३ को सम्झौता नवीकरण गर्न दुवै पक्ष सहमत भएको जानकारी दिनुभयो ।