07/06/2026, 16:49:00
सोमबार, असार २२, २०८३

फ्लाइ दुबईको २०२७ मार्च २६ सम्मको उडान तालिका सार्वजनिक


कास्की, असार २२ । फ्लाइ दुबईले पोखरा–दुबई उडानका लागि सन् २०२७ मार्च २६ सम्मको अग्रिम बुकिङ खुला गरेको छ। दीर्घकालीन रूपमा उडान सञ्चालन गर्ने लक्ष्यसहित कम्पनीले यो निर्णय गरेको हो।

फ्लाइ दुबईका नेपाल म्यानेजर नवराज शाहीका अनुसार आगामी भदौ ७ गतेदेखि एक महिनासम्म दैनिक एक उडान हुनेछ। यस उडानमार्फत दुबई हुँदै लन्डन, न्यूयोर्क, टोकियोसहित २६० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा सहजै पुग्न सकिनेछ।

पोखरा उद्योग वाणिज्य संघ र पर्यटन परिषद्ले यो उडानलाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। चिनियाँ ऋण सहयोगमा करिब २२ अर्ब रुपियाँको लागतमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म पनि यहाँबाट नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।