06/25/2026, 08:58:04
बिहिबार, असार ११, २०८३

ललितपुर महानगरपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक


ललितपुर, असार ११ गते । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको अध्यक्षतामा आज बसेको नवौँ नगरसभाको तेस्रो बैठकले उक्त बजेट प्रस्तुत गरेको हो । विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५१ हजार रुपैयाँ र पुँजीगततर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ छुट्याइएको छ ।

बजेटका मुख्य प्राथमिकताहरू

उपप्रमुख शाक्यले प्रस्तुत गर्नुभएको बजेटमा मुख्यगरी निम्न क्षेत्रहरूलाई प्राथमिकता दिइएको छ:

पूर्वाधार र सुशासन: संस्थागत सुदृढीकरण, दिगो पूर्वाधार तथा सहरी विकास र प्रविधियुक्त नागरिक मैत्री सेवा प्रवाह ।
सम्पदा र संस्कृति: कला, संस्कृति, सम्पदा संरक्षण र सम्वद्र्धनका साथै धार्मिक पर्यटनको प्रवद्र्धन ।
सामाजिक विकास: सुलभ आधारभूत स्वास्थ्य सेवा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षा, र प्रत्येक घरमा स्वच्छ खानेपानी ।
समावेशीकरण: लैङ्गिक समानता, महिला सशक्तीकरण, अपाङ्गतामैत्री व्यवस्था र बालमैत्री वातावरण ।
उद्यमशीलता: स्थानीय सहकारी तथा उद्यम व्यवसायको प्रवद्र्धन र गरिबी न्यूनीकरण ।

आयका स्रोतहरू (बजेट व्यवस्थापन)

प्रस्तुत वार्षिक बजेटका लागि महानगरले स्रोत व्यवस्थापनतर्फ निम्न अनुसारको अनुमान गरेको छ:

सङ्घीय सरकारबाट: १ अर्ब ३६ करोड ५३ लाख ९० हजार रुपैयाँ
बागमती प्रदेश सरकारबाट: १७ करोड ६३ लाख ९० हजार रुपैयाँ
आन्तरिक आय: ३ अर्ब ३५ करोड ५० लाख रुपैयाँ
अन्तर सरकारी अख्तियारी: १ अर्ब ६ करोड २० लाख रुपैयाँ
नगद मौज्दात (गत वर्षको): १ अर्ब ४७ करोड रुपैयाँ

गत वर्षको बजेट खर्च स्थिति

महानगरले गत वर्ष ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको थियो । जसमध्ये २०८३ को जेठ मसान्तसम्ममा ३ अर्ब ४३ करोड ७६ लाख ९१ हजार रुपैयाँ अर्थात् ५१.२ प्रतिशत मात्र बजेट खर्च भएको उपप्रमुख शाक्यले जानकारी दिनुभयो ।

यसअघि गत असार ५ गते भएको नगरसभाको पहिलो बैठकमा महानगरप्रमुख चिरीबाबु महर्जनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सोही नीति तथा कार्यक्रमको आधारमा आज बजेट प्रस्तुत गरिएको महानगरका प्रवक्ता राजु महर्जनले बताउनुभयो ।