काठमाडौँ, जेठ २८ गते । नेपाली समयअनुसार बिहीबार मध्यरात १२ बजेर ४५ मिनेटमा मेक्सिको सिटीको एज्टेका रंगशालामा २०२६ फिफा विश्वकपको पहिलो खेलसँगै प्रतियोगिताको औपचारिक सुरुवात हुँदै छ । यसले मैदानमा मात्र नभई आर्थिक क्षेत्रमा पनि ठूलो तरंग ल्याउँदै छ ।
यस पटक अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेका छन् । ४८ टोली सहभागी हुने यस संस्करणको विश्वकप फुटबल इतिहासकै ठूलो प्रतियोगिता मानिएको छ । केही प्रश्न र विवादबीच सुरु हुन लागेको विश्वकप ६ साता चल्नेछ, जसले पूरा विश्वकै ध्यान खिच्नेछ ।
एउटा विशाल आर्थिक गतिविधिको अवसरका रूपमा यस प्रतियोगिताले अर्बौं डलरको कारोबार सिर्जना गर्ने, विज्ञापन बजारको स्वरूप बदल्ने, विश्वव्यापी खेल सट्टेबाजी उद्योगलाई अझै उछाल दिने र खेलकुद प्रतियोगिता सञ्चालन गर्न सेन्सर, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नवीनतम प्रविधिलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले २०२६ को विश्वकपलाई अपूर्व आकारको विश्वकपका रूपमा पटक–पटक वर्णन गर्दै आएका छन् ।
प्रसारण अधिकार, प्रायोजन र खेलबाट हुने आम्दानीका हिसाबले यस संस्करणबाट अहिलेसम्मकै सबैभन्दा ठूलो व्यावसायिक प्रतिफल प्राप्त हुने फिफाको अपेक्षा छ । तर फिफा र यसका व्यावसायिक साझेदारले उल्लेख्य आम्दानी गर्ने सम्भावना देखिए पनि अर्थशास्त्रीहरूका अनुसार आयोजक मुलुकले पाउने आर्थिक लाभ प्रायः सीमित क्षेत्र र सहरमा केन्द्रित हुने गरेको छ । आयोजक देशले गर्ने खर्च र अर्बौं डलरको लगानीअनुरूप त्यसबाट आउने प्रतिफल दिगो नहुने अघिल्ला अनुभवले देखाउँदै आएका छन् ।


सर्वाधिक चाख र चासो
सबैले चासो राखेका प्रमुख दुई विषय हुन्— असाध्यै महँगो टिकट र विश्व राजनीतिमा चलिरहेको तनाव । मेक्सिकोसँग अमेरिका र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगिताको समन्वय कसरी होला, त्यो पनि हेर्न लायक रहनेछ । जति बेला प्रतियोगिता सुरु हुनेछ, सबैको आकर्षण मैदानी फुटबलमै हुनेछ । उपाधिको अन्तिम भिडन्त १९ जुलाईमा हुनेछ । र, त्यसका लागि तीव्र प्रतिस्पर्धा चल्नेछ ।
‘अहिलेको विश्वकप सबैभन्दा ठूलो हुनेछ, यो विशेष मात्र होइन, उत्तिकै सफल पनि हुनेछ,’ फिफा अध्यक्ष इन्फान्टिनोको दाबी छ, ‘यो विश्वकप ७० लाख समर्थकले सिधै मैदानमै गएर हेर्नेछन् । यो विश्वकपका प्रायः खेल अमेरिकामा हुनेछन् । यससँग विश्व राजनीति स्वाभाविक रूपमा जोडिएर आउनेछ ।’ इरानसँग अमेरिकाको युद्ध र राष्ट्रपति डोनल्ड ट्रम्पको विश्व नीति यो विश्वकपबाट टाढा रहनेछैन ।
सहभागी हुने टिमको संख्या ३२ बाट ४८ पुर्याइएको हुनाले खेल र दिन संख्या दुवै बढेका छन् । यसकारण कुराकाओ र केप भार्डेजस्ता साना देशले पनि भाग लिने अवसर पाइरहेका छन् । सुरुवाती लिग चरण १२ समूहमा विभाजित गरिएका छन् । यस चरणमै मात्र ७२ खेल हुनेछन् । विश्वकप इतिहासमै पहिलो पटक अन्तिम ३२ का खेल हुनेछन् । सम्भवतः लिग चरणमा त्यस्तो कडा प्रतिस्पर्धाको खेल अपेक्षा नगरे हुनेछ । किनभने एउटै समूहमा दुई बलिया टिम रहेको स्थिति छैन ।
विश्वकपका वास्तविक प्रतिस्पर्धा अन्तिम १६ बाट मात्र सुरु हुनेछन् । त्यसैले अहिले बहसको एउटा मुद्दा के छ भने सहभागी टिमको संख्या बढाउँदा त्यसले साना–साना र लामो फुटबल इतिहास नभएको देशलाई त फाइदा गर्नेछ । तर यसले प्रतियोगिताले पस्कने फुटबलको स्तरमै कमी आउने डर हुनेछ । प्रत्येक समूहको शीर्ष दुई टिम मात्र यसपल्ट नकआउट चरण पुग्ने छैनन्, यसपल्ट तेस्रो स्थानमा आउने उत्कृष्ट आठ टिम पनि प्रतियोगिताको अर्को चरण पुग्नेछन् ।
त्यसैले केही टिमले नकआउट चरण पुग्ने लोभले संयमित र कम आक्रामक फुटबल खेल्ने सम्भावना उत्तिकै रहनेछ ।


मेसी र रोनाल्डोको अन्तिम विश्वकप
यस पटकको विश्वकप किन पनि विशेष छ भने यो शताब्दीले देखेका दुई महान् खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको यो अन्तिम विश्वकप पनि हुनेछ । अर्जेन्टिना प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन छ । उसले ३८ वर्षीय मेसीकै नेतृत्वमा खेल्दै छ । प्रश्न हुनेछ— के मेसीले आफ्नो देशलाई एक अर्को सफलता दिलाउन सक्लान् ? अनि ४१ वर्षीय रोनाल्डोले पोर्चॅगलका लागि एउटा ठूलो प्रतियोगिता जितेर आफ्नो सफल खेल जीवनलाई पूर्णविराम दिन सक्नेछन् त ?
यी दुवै खेलाडी छैटौं पटक विश्वकप खेल्दै छन् । अर्को विश्वकपमा उनीहरू मैदानमा सक्रिय रहने छैनन् । प्रतियोगिताको उपाधिका लागि बलियो प्रत्याशी को हो ? सबैलाई यसमा पनि चासो रहनेछ । ब्राजिल विश्वकप इतिहासकै सबैभन्दा सफल टिम छ । उसले पाँचपल्ट यो प्रतियोगिता जितिसकेको छ । तर पछिल्लो दुई दशकमा ब्राजिली टिमको चमक सेलाएको देखिन्छ । त्यसैले ब्राजिलले यसपल्टको विश्वकप इटलीका अनुभवी प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा खेलिरहेको छ । इंग्ल्यान्ड पनि ६० वर्षयता पहिलो ठूलो उपाधि जित्न जर्मनीका प्रशिक्षक थमस टुचेलमा निर्भर छ । यसपल्ट पनि सम्भवतः नयाँ विजेता आउने छैन, पुरानै विजेतामध्ये एकले उपाधि जित्नेछ ।
त्यो भनेको एक प्रकारले युरोप र दक्षिण अमेरिकाकै बलिया टिमबीच उपाधिका लागि निर्णायक भिडन्त हुनेछ । त्यसमा दक्षिण अमेरिकाबाट अर्जेन्टिना र ब्राजिल भए, युरोपबाट भने तिनै पोर्चॅगल र इंग्ल्यान्डसँगै फ्रान्स र स्पेन हुन् । केही अन्य युरोपेली देश पनि उच्च प्रदर्शनका लागि सक्षम छन् । केही अफ्रिकी र एसियाली देशमाथि पनि दृष्टि रहनेछ । तिनको जिम्मेवारी हुनेछ, उपाधिमाथि रहेको युरोप र दक्षिण अमेरिकी वर्चस्व तोड्ने । यस्तै नजर तीन आयोजक देशमध्ये एक अमेरिकामाथि पनि रहनेछ । अमेरिका आफ्नो घरमा खेल्दै छ । र, प्रशिक्षक छन्, अनुभवी अर्जेन्टिनी मउरिसो पोचेटिनो । सम्भवतः अमेरिकाले पेस गर्ने चुनौती पनि कम्तीको हुनेछैन ।
मेक्सिकोको प्रसिद्ध ‘इस्टाडियो एज्टेका’ रंगशालाले पनि यस पटक दुर्लभ कीर्तिमान बनाउँदै छ । सन् १९७०, १९८६ र २०२६ का खेल र उद्घाटन खेल आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बन्दै छ । यही रंगशालामा सन् १९८६ मा म्याराडोनाले चर्चित ‘ह्यान्ड अफ गड’ गोल गरेका थिए ।


फुटबलको सबैभन्दा ठूलो व्यापार
यस आयोजनाका लागि कुल १३.९ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ । फिफा र विश्व व्यापार संगठनले सार्वजनिक गरेको संयुक्त अध्ययनअनुसार यो प्रतियोगिताले विश्वको कुल गार्हस्थ्य उत्पादनमा ४०.९ अर्ब डलर बराबरको योगदान पुर्याउनेछ । अध्ययनले विश्वभर करिब ८ लाख २४ हजार नयाँ रोजगारीका अवसर सिर्जना हुने प्रक्षेपण गरेको छ । अमेरिकामा मात्रै करिब २ लाख रोजगारी सिर्जना हुने अनुमान छ ।
विश्वकप फुटबलले गर्दा संसारभरि झन्डै ८०.१ अर्ब डलर बराबरको नयाँ आर्थिक कारोबार हुने प्रक्षेपण छ । विश्वकपका कारण संसारभरिका विभिन्न व्यापार व्यवसायमा सामान र सेवाहरूको बिक्री ह्वात्तै बढ्ने र आर्थिक गतिविधि तीव्र हुने ठानिएको छ । फिफाको आफ्नो खर्च भने करिब ३.८ अर्ब डलर हुने अनुमान गरिएको छ । सञ्चालनमा १.१२ अर्ब डलर, पुरस्कारमा १.०२ अर्ब डलर, टिमहरूका लागि ८९ करोड डलर, रंगशालाको मर्मत, भाडा र खेलकुद सामग्रीका लागि ४२ करोड डलर र प्रशासनतर्फ ९ करोड डलर फिफाले छुट्याएको छ ।
इन्टरनेट र डिजिटल प्रविधिका कारण यसपालि ६ अर्बभन्दा बढी अर्थात् विश्वव्यापी कुल जनसंख्याको तीनचौथाइ मानिसले यो प्रतियोगिता हेर्ने अपेक्षा छ । कतारमा भएको सन् २०२२ को विश्वकप ५ अर्ब मानिसले हेरेका थिए । त्यो बेला फिफाको चारवर्षे व्यावसायिक आम्दानीमा करिब ७.५ अर्ब अमेरिकी डलर आम्दानी भएको अनुमान गरिन्छ । प्रसारण अधिकार, प्रायोजन सम्झौता र लाइसेन्सिङबाट आएको यो आम्दानीलाई आधार मान्दा सन् २०२६ को विश्वकपले फिफाको कुल आम्दानी १० अर्ब डलरभन्दा माथि पुग्ने अनुमान छ ।
प्रतियोगिताको प्रमुख आर्थिक मेरुदण्ड प्रसारण अधिकार हो । टेलिभिजन र डिजिटल माध्यमको प्रसारण अधिकारले परम्परागत रूपमा फिफाको कुल आम्दानीको आधाभन्दा बढी हिस्सा ओगट्दै आएको छ । फिफाले यसअघिका विश्वकपमा न्यून प्रतिव्यक्ति आय भएका देश वा पिछडिएका क्षेत्रमा निःशुल्क प्रसारण सुविधा दिँदै आएको थियो । तर यस पटक १ सय ९० देश तथा क्षेत्रमा विश्वकप प्रसारण अधिकार बिक्री गरेको छ ।


अमेरिकी प्रसारण संस्था फक्स न्युज र एनबीसीले प्रसारण अधिकारका लागि झन्डै १ अर्ब अमेरिकी डलर तिरेको समाचार बाहिरिएका थिए । भारत र चीनमा भने अन्तिम समयसम्म उल्लेख्य आकर्षण नभएपछि कम मूल्यमा बिक्री गर्नॅपरेको थियो । प्रायः दर्शकका लागि असहज समयमा परेको यो प्रसारण अन्तिम समयमा भारतमा जी नेटवर्क र चीनमा सीसीटीभीले गर्ने भएका हुन् । नेपालमा हिमालय स्पोर्ट्स एचडी टेलिभिजन च्यानल र डिगो मोबाइल एपबाट फिफा विश्वकप २०२६ का खेल आधिकारिक रूपमा हेर्न सकिन्छ ।
विश्वकपका कारण अमेरिकामा मात्रै विज्ञापन खर्च करिब ५० करोड अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान छ । प्रतियोगितामा दुईखाले प्रमुख प्रायोजक देखिने छन् । तीमध्ये अराम्को, एडिडास, कोकाकोला, भिसा, ह्युन्डे, लेनोभो, कतार एयरवेजजस्ता फिफाका दीर्घकालीन प्रायोजक एकथरी हुन् । अर्का खाले प्रायोजक २०२६ को विश्वकपमा फिफासँग जोडिएका बैंक अफ अमेरिका, म्याकडोनाल्ड्स, युनिलिभर भेराइजोन लगायत हुन् ।
प्रतियोगितामा अमेरिकी प्रसारकहरूले मात्रै ८५ करोड डलरभन्दा बढीको विज्ञापन कारोबार गर्ने अपेक्षा छ । साथै विश्वव्यापी विज्ञापन कारोबार ११ अर्ब डलरभन्दा माथि पुग्न सक्ने अनुमान छ । फिफाको प्रमुख प्रायोजक आराम्कोले नै विज्ञापनबापत संस्थालाई वार्षिक १० करोड अमेरिकी डलर बुझाउने गरेको छ ।
आयोजक मुलुकहरूको आर्थिक दाउ
आयोजक तीन देशले फुटबललाई आर्थिक गतिविधिको नयाँ स्रोतका रूपमा हेरिरहेका छन् । ह्वाइट हाउस टास्क फोर्सको वेबसाइटमा उल्लेख भएअनुसार अमेरिकाका ११ सहरमा हुने खेलले स्थानीय अर्थतन्त्रलाई ठूलो राहत दिनेछन् । अमेरिकामा मात्रै पर्यटन, होटल व्यवसाय, यातायात र प्रतियोगितासँग सम्बन्धित खर्चबाट १७.२ अर्ब डलरको आर्थिक गतिविधि थपिने दाबी गरिएको छ । ह्वाइट हाउसले यस प्रतियोगितालाई देशको २५०औं वार्षिकोत्सवसँग जोडेर ठूलो उत्सवका रूपमा मनाउन लागेको छ ।
क्यानडाले पनि अर्बौं क्यानडेली डलर बराबरको आर्थिक गतिविधिको अपेक्षा गरेको छ । स्थानीय ग्लोबल न्युजले बैंक अफ मन्ट्रियलको प्रतिवेदनलाई उद्धृत गर्दै विश्वकपका बेला पर्यटन र हस्पिटालिटी क्षेत्रमा हुने खर्चका कारण क्यानडाको कुल गार्हस्थ्य उत्पादनमा सामान्य वृद्धि हुने जनाएको छ । बैंकका प्रमुख अर्थशास्त्री डग पोर्टरले यसलाई ‘अल्पकालीन लाभ’ का रूपमा व्याख्या गरेका छन् । फिफाले भने ग्रेटर टोरन्टो क्षेत्रमा मात्रै करिब ९४० मिलियन डलर बराबरको आर्थिक लाभ हुने अनुमान गरेको छ ।


खेल आयोजना गर्ने सहरका होटल, रेस्टुराँ, हवाई सेवा, सवारी सेवा र साना व्यवसायले असाधारण मागको सामना गर्ने अपेक्षा छ । प्रतियोगिता अवधिभर लाखौं दर्शक विभिन्न सहरमा पुग्ने भएकाले स्थानीय खर्चमा ठूलो वृद्धि हुने अनुमान गरिएको हो । यसमा मेक्सिको सबैभन्दा ठूलो लाभग्राही हुन सक्ने विश्लेषण भइरहेको छ । विश्वकपले मेक्सिकन अर्थतन्त्रमा करिब ३ अर्ब डलर थप्न सक्ने अनुमान छ । मेक्सिको सिटी, मोन्टेरे र ग्वाडालाहारा जस्ता सहरले यसको सबैभन्दा ठूलो लाभ लिन सक्ने अपेक्षा छ । तर त्यहाँ लामो समयदेखि पानीको हाहाकार भएकाले त्यसको व्यवस्थापन ठूलो चुनौती मानिएको छ ।
विश्वकपलाई गर्मीले पनि उत्तिकै प्रभावित पार्नेछ । खेलमा क्रममा हुने गर्मीले आम दर्शक प्रभावित हुनेछन् नै, खेलाडी र रेफ्रीको प्रदर्शनमा पनि यसले असर पार्नेछ । यो समय खेल हुने प्रायः अमेरिकी सहरमा प्रचण्ड गर्मी छ । त्यसकारण फिफाले प्रत्येक हाफमा अनिवार्य विश्रामको पनि व्यवस्था गरेको छ । त्यसको अर्थ, अबको विश्वकपका प्रत्येक खेल एक अर्थमा चार भागमा विभाजित हुनेछन् । यो अनिवार्य विश्रामको समयले खेलको गति घटाउन निर्णायक प्रभाव पार्न सक्छ । तर यही विश्रामले केही टिमलाई आफ्नो रणनीति परिवर्तन गर्न र विपक्षीको लगातार आक्रमणलाई रोक्ने पनि फाइदा पुग्नेछ ।
पहिलो खेलअघि नै अर्बौं डलर खर्च
कतारले विश्वकपका लागि धेरैजसो पूर्वाधार नयाँ निर्माण गरेको थियो । उत्तर अमेरिकाको विश्वकप भने पहिलेदेखि रहेका रंगशालामै आधारित छ । तर यसको अर्थ यो प्रतियोगिता सस्तो छ भन्ने होइन । आयोजक सहरहरूले रंगशाला स्तरोन्नति, सुरक्षा प्रणाली, यातायात सुधार, दूरसञ्चार पूर्वाधार र फ्यान जोन निर्माणमा ठूलो लगानी गरेका छन् ।
एनएफएलका रंगशालालाई फिफाको मापदण्डअनुसार बनाउन खेल मैदान, आतिथ्य सेवा, सञ्चार सुविधा र अस्थायी दर्शक क्षमता विस्तारजस्ता काम गरिएको छ । पर्यटकको खानपान, आवास र यातायातबाट मात्रै ७.५ अर्ब डलर बराबरको आर्थिक कारोबार हुने अनुमान छ । फिफाले खेल सञ्चालन, पुरस्कार र टोलीहरूका लागि ३.८ अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । आयोजक सहरहरूको व्यवस्थापकीय काममा १.८ अर्ब डलर र रंगशाला तथा अन्य पूर्वाधारको पुँजीगत लगानीमा करिब ९० करोड डलर खर्च हुने फिफा तथा विश्व व्यापार संगठनका प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक लगानी रंगशालामा मात्र सीमित छैन । विमानस्थल, सडक, सार्वजनिक यातायात र सहरी पूर्वाधारमा पनि सुधार गरिएको छ । सार्वजनिक स्रोतबाट भएको यस्तो लगानीको भार करदाताले बेहोर्नॅपर्ने तर त्यसको प्रत्यक्ष लाभ निजी क्षेत्रले लिने भन्दै आलोचकहरूले कटाक्ष गर्ने गरेका छन् । समर्थक भने पूर्वाधार सुधार र पर्यटन प्रवर्द्धनले दीर्घकालीन लाभ दिने तर्क गर्छन् ।


खेलको अर्थतन्त्र
टिकट बिक्री र कर्पोरेट आतिथ्य सेवाबाट मात्रै करिब ३ अर्ब अमेरिकी डलर आम्दानी हुन सक्ने अनुमान छ । यसको मुख्य कारण खेलको संख्या बढ्नु मात्र होइन, ७० हजारभन्दा बढी दर्शक अट्ने विशाल एनएफएल रंगशालाको प्रयोग पनि हो । विश्वव्यापी मदिरा र पेयपदार्थ उत्पादक कम्पनीहरूले यस्ता प्रतियोगिताका बेला बिक्रीमा उल्लेख्य वृद्धि देख्ने गरेका छन् ।
नाइकी, एडिडास र पुमाजस्ता खेल सामग्री उत्पादक कम्पनी पनि विश्वकपका प्रमुख लाभग्राही हुन् । यिनले राष्ट्रिय टोलीका जर्सी, सीमित संस्करणका सामग्री र प्रतियोगितासँग सम्बन्धित उत्पादन बिक्रीबाट राम्रो व्यापार गर्ने गरेका छन् । हवाई सेवा, होटल र अनलाइन ट्राभल कम्पनीका लागि पनि यो दशककै व्यस्त समयमध्ये एक मानिन्छ । अमेरिकामा आवास र खाद्य सेवा क्षेत्रले मात्रै २.४ अर्ब डलरको फाइदा लिने अपेक्षा छ । आयोजक सहरहरूको विश्वव्यापी प्रचार हुने भएकाले खेल सकिएपछि पनि पर्यटक आगमन बढ्ने र त्यसबाट निरन्तर आम्दानी भइरहने विश्वास गरिन्छ ।
विश्व आर्थिक मञ्चको प्रतिवेदनमा केही आर्थिक चुनौतीबारे पनि चर्चा गरिएको छ । महँगी र महँगो टिकटका कारण कतिपय आयोजक सहरहरूमा होटलको दर र पर्यटक आगमनमा सोचे जस्तो चाप नहुने हो कि भन्ने विज्ञहरूको चिन्ता छ । यद्यपि खेलअघिको यो अर्बौं डलरको लगानीले समाजको स्वास्थ्य र मानसिक अवस्थामा ८.३ अर्ब डलर बराबरको सकारात्मक प्रभाव पार्ने दाबी फिफाको प्रतिवेदनमा गरिएको छ ।
सट्टेबाजी, एआई र नवीन प्रविधि
बजार विश्लेषकहरूको अनुमानअनुसार विश्वकप चक्रमा विश्वभर हुने सट्टेबाजी कारोबार १ सय अर्ब अमेरिकी डलर नाघ्न सक्छ । सट्टेबाजी कम्पनीहरूले यसपालि एआईमार्फत प्रयोगकर्तालाई व्यक्तिगत प्रस्ताव उपलब्ध गराइरहेका छन् । खेल चलिरहँदा तत्कालै नयाँ सट्टेबाजी विकल्प सिर्जना गरिरहेका छन् । अब खेल जित्ने वा हार्ने अनुमानमा मात्र सीमित नभई कर्नर प्रहारपछि गोलतर्फ प्रहार हुन्छ कि हुँदैन भन्ने जस्ता सूक्ष्म घटनामा पनि तुरुन्तै बाजी लगाउन सकिने भएको छ ।
एआईले एउटै खेलका हजारौं साना सट्टेबाजी बजार सिर्जना गर्न सम्भव बनाएको र त्यसले सट्टेबाजी कम्पनीहरूको आम्दानी बढाइरहेको बताइन्छ । तथापि एआईले प्रसारक र विज्ञापनदातालाई दर्शकको व्यवहार बुझ्न, प्रचार सामग्री मिलाउन र व्यावसायिक रणनीति परिमार्जन गर्न पनि सहयोग पुर्याउने अपेक्षा छ । यस संस्करणलाई इतिहासकै सबैभन्दा प्रविधिमैत्री विश्वकप मानिएको छ ।
मैदानमा सेमी–अटोमेटेड अफसाइड प्रविधिको विकास, सेन्सरजडित बल र निर्णय प्रक्रियालाई अझ छिटो र विश्वसनीय बनाउन उन्नत डेटा प्रणालीको प्रयोग यसपालि देखिनेछ । फिफाले रेफ्रीको शरीरमा क्यामेरा जडान गर्ने अभ्यास पनि गरिरहेको छ । एडिडासका अनुसार अत्यधिक गर्मीबाट बचाउन खेलाडीहरूका लागि ‘क्लाइमकुल सिस्टम’मा आधारित विशेष प्रकारको कुलिङ भेस्ट, ज्याकेट र जुत्ता विकास गरिएको छ ।
शरीर, पेट र ढाडलाई चिसो बनाउन तिनमा फ्रोजन जेल प्रयोग गरिएको एडिडासले उल्लेख गरेको छ । ‘यस प्रणालीले खेलाडीको शरीरको तापक्रम कम गर्न र गर्मी सहन सक्ने क्षमता बढाउन मद्दत गर्छ,’ एडिडासले भनेको छ, ‘ओभरसुले बुटभित्रको खुट्टाको तापक्रमलाई सात मिनेटभित्रै दुई डिग्री सेल्सियसले घटाउँछ । यसले खुट्टा सुन्निने समस्या कम गरी खेलाडीलाई सहज बनाउँछ ।’
विश्वकपका केही ठूला प्रविधिगत परिवर्तन भने रंगशालाबाहिर देखिनेछन् । डिजिटल टिकट प्रणाली, एआईमा आधारित भीड व्यवस्थापन, पूर्वानुमान गर्न सक्ने सुरक्षा प्रणाली र बहुभाषिक भर्चॅअल सहायकहरूले तीन देश र विभिन्न समय क्षेत्रमा फैलिएको विशाल प्रतियोगितालाई व्यवस्थित गर्न भूमिका खेल्ने अपेक्षा छ ।
प्रसारण कम्पनीहरूले मेसिन लर्निङमार्फत दर्शकका लागि व्यक्तिगत हाइलाइट सामग्री तयार गर्ने भएका छन् । स्ट्रिमिङ प्लाटफर्महरूले पनि दर्शकको रुचिअनुसार खेल र टोलीको सामग्री सिफारिस गर्न सक्नेछन् ।
यस पटकको आधिकारिक बल ‘ट्रिओन्डा’भित्र एउटा सानो सेन्सर (आईएमयू) राखिएको र यसले प्रतिसेकेन्ड ५ सय पटक तथ्यांक संकलन गरी बलको गति र दिशाको जानकारी भिडियो असिस्टेन्ट रेफ्री (भार) लाई पठाउने न्युज डट एडिडासले जनाएको छ । रेफ्रीहरूलाई अफसाइडको निर्णय लिन सहज होस् भनेर खेलाडीहरूको थ्रीडी अवतार बनाइएको छ । प्रत्येक खेलाडीको शरीर स्क्यान गरेर यस्तो अवतार बनाइएको र त्यसमा एआई समावेश गरिएको समाचारहरूमा उल्लेख छ ।


राजनीतिक प्रभाव
यति भन्दै गर्दा मैदानबाहिरको राजनीतिबाट यो विश्वकप मात्रै कसरी अछुतो रहन सक्छ ? अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफ्नो देशमा विश्वकप आयोजना गर्न पाएकामा खुसी छन् । यस विश्वकपलाई उनले अमेरिकालाई फेरि महान् बनाउने आफ्नो योजनाको एउटा भाग मानेका छन् । फिफा पनि ट्रम्पको विश्वव्यापी प्रभावबारे पूर्ण जानकार छ । त्यसैले विश्व फुटबलको यस सर्वोच्च संस्थाले गत वर्ष तिनै ट्रम्पलाई फिफा शान्ति पुरस्कार दिएको थियो, त्यो पनि ट्रम्पले नोबल शान्ति पुरस्कार नपाएपछि । इजरायलसँग मिलेर अमेरिकाले इरानमाथि गरेको आक्रमण र त्यससँगै तेलको बढ्दो मूल्यबाट पनि यो विश्वकप प्रभावित रहनेछ ।
इरानले यो विश्वकपमा कस्तो प्रदर्शन गर्नेछ, त्यसमा पनि धेरैको रुचि रहनेछ । इरानले यसबीच आफ्नो प्रशिक्षण केन्द्र अमेरिकाबाट सारेर मेक्सिकोमा राखिसकेको छ । यही बेला चर्को टिकट मूल्यलाई लिएर पनि फिफाको उत्तिकै आलोचना भइरहेको छ । आरोप छ— अब फुटबल गरिबको सुन्दर खेल रहेन, यो धनीको मात्र रह्यो । आम फुटबलप्रेमीको यसबीच चाहना भने जति बेला वास्तविक खेल सुरु हुनेछ, त्यस्ता सबैखाले राजनीतिक अन्योल र विवाद समाप्त होऊन् । बरु, चर्चा होस् त मैदानकै फुटबलको । विश्वास गरौं, विश्वकप २०२६ ले फुटबलको नयाँ स्वाद पस्किन सकोस् र त्यसमा आम समर्थक रमाउन पाऊन् ।
– हिमेश, सजना बराल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































