06/10/2026, 11:01:20
बुधबार, जेठ २७, २०८३

विरोधको नयाँ शैलीप्रति पनि सभामुख अर्याल असन्तुष्ट


काठमाडौँ, जेठ २७ गते । प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर १० दिनदेखि संसद् अवरोध गरिरहेका विपक्षी दलले मङ्गलबार विरोधको शैली बदले । सामान्यतया संसद्मा सभाध्यक्षले समय निर्धारण गर्ने र सांसदले त्यसको पालना गर्नुपर्ने व्यवस्था भए पनि प्रतिपक्षका सांसदले नै समय निर्धारण र मौनधारण दुवै कार्य आफैँ गरिदिए । विरोधको यो फरक शैलीमा सभामुख डोलप्रसाद अर्यालले असन्तुष्टि जनाउनुभयो । यसो त प्रतिनिधि सभामा यसअघि पनि सांसदको आह्वानमा मौनधारणको अभ्यास छ । यस्तो अभ्यास विवादमुक्त भने छैन ।

प्रतिनिधि सभामा प्रधानमन्त्री शाहले जेठ १७ गते प्रश्नोत्तरका क्रममा दिनुभएको अभिव्यक्तिमा प्रतिपक्षले निरन्तर क्षमायाचना मागिरहेको छ । उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि विपक्षी दलको माग छ । १० दिनदेखि विपक्षी दलले प्रधानमन्त्रीको क्षमायाचना माग गरे पनि जवाफका लागि सभामुखबाट रुलिङ भएको छैन ।

अवरोधकै सिलसिलामा मङ्गलबार कांग्रेस सांसद निस्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले सहिदको आत्मसम्मान गिरेको भन्दै क्षमाका लागि मौनधारण प्रस्ताव गर्नुभएको थियो । आफैँले पाँच मिनेट समय निर्धारण गरेर राईले अन्य सांसदलाई पनि उठिदिन आग्रह गर्नुभएको थियो । राईको आग्रहलाई विपक्षी दलका सांसदले साथ दिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना र मौनधारणको आग्रह गर्दै राईले सभामा भन्नुभएको थियो, “प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले आफ्नो ज्यान आहुति दिएर नेपालको सीमा पूर्वमा चिवाभन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने ती अमर सहिदको आत्मसम्मान कति गिरेको होला ? त्यसैले आज ती अमर सहिद प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति, विभिन्न आन्दोलनका सहिद तथा सुशासन र जवाफदेहिताका लागि भएको जेनजी विद्रोहका सहिदप्रति हामी सम्झन चाहन्छौँ । आज यस गरिमामय सदनमा पाँच मिनेट यहाँ उभिएर उहाँहरूको सम्झनामा मौनधारण गर्ने छौँ ।

राईको अभिव्यक्ति सकिएलगत्तै सभामुख अर्यालले विरोधको उक्त शैलीमा आपत्ति जनाउनुभएको थियो । आगामी दिनमा यस्ता गतिविधि नगर्नसमेत अर्यालले चेतावनी दिनुभयो । आफैँले समय तोक्ने कार्यप्रति सभामुख अर्यालले असन्तुष्टि जनाउनुभएको हो ।

सांसदलाई मर्यादित हुन रुलिङ गर्दै सभामुख अर्यालले भन्नुभयो, “यो सभा सभामुखले सञ्चालन गर्दै गर्दा सभामुखको तर्फबाट नभई सदस्यले हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैँले समय तोकेर जुन किसिमको प्रयास आज गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ । आगामी दिनमा सभालाई सभा जस्तै गरी सञ्चालन गर्न माननीय सदस्यहरूले सहयोग गर्नलाई म ध्यानाकर्षण गराउँदछु ।

– नारायण काफ्ले