काठमाडौँ, जेठ २६ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मानमर्दन गर्ने र बजेटका उपलब्धिलाई तोडमोड गर्ने नियोजित उद्देश्यसहित भइरहेका दुष्प्रचारबारे अर्थ मन्त्रालयले स्पष्ट पारेको छ। हाल सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आर्थिक विधेयक संशोधन र बजेटअघि उत्तरी नाकाबाट भएका विद्युतीय गाडी (ईभी) को भन्सार जाँचपासका विषयमा फैलाइएका भ्रमप्रति मन्त्रालयले वास्तविकता सार्वजनिक गरेको हो।
अर्थमन्त्रीका स्वकीय उपसचिव एवम् जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा जेठ १५ गते संसद्मा पेस गरिएको आर्थिक विधेयकमा केही अस्पष्टता र भाषिक त्रुटि देखिएपछि जेठ १७ गते सङ्घीय संसद् सचिवालयमा निवेदन दर्ता गराई त्रुटि सच्याइएको उल्लेख छ। संसद्मा पेस भइसकेको विधेयकमा देखिएका प्राविधिक तथा भाषिक त्रुटि सच्याउन निवेदन दिनु नियमित कानुनी प्रक्रिया भएको र यसअघिका पूर्वअर्थमन्त्रीले पनि यस्ता नजिर कायम गरेको सचिवालयले स्पष्ट पारेको छ। ‘१६ पाना गायब भएको‘ भन्ने भ्रामक टिप्पणीप्रति स्पष्ट पार्दै टेबल तथा पेज लेआउट मिलाउँदा पृष्ठ सङ्ख्या घटेको तर संसद्लाई जानकारी नगराई कुनै पनि शब्द हेरफेर नगरिएको स्पष्ट पारिएको छ।
यसै गरी बजेटको मुखमा कर बढ्ने वा घट्ने सूचना चुहाएर व्यवसायीलाई लाभ हुने गरी उत्तरी नाकाबाट विद्युतीय सवारीसाधन भित्र्याइएको भन्ने आरोपलाई पनि सचिवालयले पूर्णतः निराधार र भ्रामक भनेको छ। रसुवा भन्सार कार्यालयबाट लक्ष्मी इ–मोबिलिटीले आयात गरेका दुई सय गुड्ने गाडीमा बजेटको नयाँ व्यवस्थाले भन्सार महसुल घटेको छ। यदि सूचना चुहावट भएको भए आयातकर्ताले पुरानै महँगो दरमा गाडी नभित्र्याई बजेटपछि मात्रै ल्याउने थिए। यद्यपि, कागजी प्रक्रियाको थप अनुसन्धानका लागि त्यहाँका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ।
यस्तै, मुस्ताङको कोरोला नाकाबाट जेठ ८ देखि १३ गतेसम्म बीवाईडी कम्पनीका ६४९ वटा कार (एटो वान र एटो टु) नियमित बैङ्किङ प्रणाली (एलसी) र यातायात व्यवस्था विभागको पूर्व-स्वीकृति अनुसार नै कानुनी रूपमा भित्रिएका हुन्। बजेटको नयाँ व्यवस्थाले यी गाडीमध्ये कतिपयको महसुल बढेको छ भने कतिपयको घटेको छ। आयातकर्ताले भन्सार दर हेरफेरको स्पष्ट लाभ लिने गरी गाडी पैठारी गरेको कतै देखिँदैन।
गत वर्ष जेठको पहिलो दुई हप्तामा चार हजार ३१७ वटा विद्युतीय गाडी पैठारी भएकोमा यस वर्ष सोही अवधिमा दुई हजार ७६४ वटा मात्र गाडी पैठारी भएको तथ्याङ्कले ईभी आयातको विषयलाई अतिरञ्जित गरिएको पुष्टि हुन्छ। तसर्थ, नियोजित रूपमा गरिएका प्रचारबाजी र मिथ्या सूचनाको भ्रममा नपर्न सचिवालयले सबैमा अनुरोध गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































