06/05/2026, 12:27:14
शुक्रबार, जेठ २२, २०८३

सामाजिक सञ्जालमार्फत धम्कीः खोटाङमा एक महिलाको ज्यान गयो


खोटाङ, जेठ २२ गते । सामाजिक सञ्जालमार्फत दिइएको निरन्तर मानसिक यातना सहन नसकेपछि खोटाङमा एक महिलाले आत्महत्या गरेको खुलेको छ। अश्लील शब्द प्रयोग गर्ने, अश्लील भिडियो पठाउने तथा महिलाको फोटो प्रयोग गरी अश्लील सामग्री बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने धम्कीका कारण महिलाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ निवासी ३२ वर्षीया देवी विष्ट कार्कीलाई सामाजिक सञ्जालमार्फत यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ गोगनेका ४९ वर्षीय कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ।

जेठ २० गते बिहान ७ः३० बजे घर नजिकैको जंगलमा महिलाको शव झुन्डिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका अनुसार लामो समयदेखि सामाजिक सञ्जालमार्फत दिइएको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो।

प्रहरीका अनुसार फेसबुक, म्यासेन्जर र इमोमार्फत आरोपीले महिलालाई निरन्तर अश्लील सामग्री पठाउने, अश्लील शब्द प्रयोग गर्ने तथा महिलाको फोटो प्रयोग गरी अश्लील भिडियो बनाएर सार्वजनिक गर्ने धम्की दिने गरेको पाइएको छ।

महिलाले भेट्न अस्वीकार गरेपछि फोटोमा अश्लील शब्द र अडियो जोडेर भिडियो बनाएर सार्वजनिक गर्ने धम्कीसमेत दिइएको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ। हालसम्म उनीहरूबीच सामाजिक सञ्जालमार्फत मात्र कुराकानी भएको देखिएको र प्रत्यक्ष भेट नभएको पनि प्रहरीले जनाएको छ।

मोबाइल फोनहरू डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको र त्यसपछि थप तथ्य खुल्ने प्रहरीको भनाइ छ। पुरुष र महिला दुवै विवाहित रहेको समेत खुलेको छ।

सामाजिक सञ्जालमार्फत मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य बनाउने कसुरमा पक्राउ परेका थापालाई जिल्ला अदालत दिक्तेलबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। आत्महत्या दुरुत्साहनको अभियोगमा उनलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..