06/04/2026, 21:24:10
बिहिबार, जेठ २१, २०८३

गर्मीका कारण गौशाला नगरपालिकाका सबै विद्यालय पाँच दिन बन्द


बर्दीबास, जेठ २१ गते । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि महोत्तरीको गौशाला नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै विद्यालयको पठनपाठन पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीका अनुसार पछिल्ला केही दिनदेखि निरन्तर बढिरहेको गर्मीले जनजीवन प्रभावित हुनुका साथै शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्ने अवस्था देखिएपछि बिदा दिने निर्णय गरिएको हो ।

अधिकारीले बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले विद्यार्थीको स्वास्थ्य सुरक्षा तथा हितलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयको पठनपाठन शुक्रबारदेखि आगामी सोमबारसम्म पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो। नगरपालिकाले सम्बन्धित विद्यालय, अभिभावक तथा सरोकारवालालाई निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन अनुरोध गरेको छ ।

नगर शिक्षा शाखा प्रमुख सञ्जयकुमार सिंहका अनुसार पछिल्ला केही दिनयता नगर क्षेत्रको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुगेपछि विद्यार्थी बिरामी पर्न थालेका छन् । बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य जोखिम बढेको उहाँले बताउनुभयो ।

यसैबिच गौशाला–१२, कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा हालसम्म २० जना छात्रा गर्मीका कारण बेहोस भइसकेका छन् । विद्यालयका प्रधानाध्यापक रामस्नेही यादवका अनुसार आज बिहीबार पनि पाँच जना छात्राको स्वास्थ्य अवस्था बिग्रिएको थियो । उनीहरूलाई प्राथमिक उपचारपछि अभिभावकको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।

विद्यालयमा दिनहुँजसो विद्यार्थी बेहोस हुन थालेपछि नगर स्वास्थ्य शाखा प्रमुख अशोककुमार महतोसहित स्वास्थ्यकर्मीको टोलीले कान्तिबजार विद्यालयको अनुगमन गरेको थियो । अनुगमनका क्रममा बढ्दो गर्मी, साँघुरो कक्षाकोठा, पर्याप्त भेन्टिलेसनको अभाव, जस्तापाताको छानो तथा कतिपय विद्यार्थी भोकै विद्यालय आउने गरेका कारण स्वास्थ्य समस्या देखिएको महतोले बताउनुभयो ।

नगर शिक्षा शाखाका अनुसार गौशाला नगरपालिकाभित्र ३१ सामुदायिक, ३० संस्थागत र सात धार्मिक गरी कुल ६८ विद्यालय सञ्चालनमा रहेका छन्, जहाँ २० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यसअघि बढ्दो गर्मीका कारण विद्यार्थी कक्षा कोठामै अचेत हुन थालेपछि बर्दिबास नगरपालिकाले पनि आफ्नो क्षेत्रका ८२ वटा विद्यालयमा दुई दिनको बिदा दिएको छ ।

– रवीन्द्र उप्रेती