06/03/2026, 23:25:02
बुधबार, जेठ २०, २०८३

साइबर अपराध : बढ्दो ठगी

सामाजिक सञ्जाल, बैङ्क तथा वित्तीय संस्था, अनलाइन कारोबार, चिट्ठा, पार्सल, उपहार, वैदेशिक रोजगारीको प्रलोभन, अपुताली, भिडियो सेयरिङ, अनलाइन जागिर, क्रिप्टो, भर्चुअल सम्पत्ति, अनलाइन टिकटकलगायत कोठा खोजिदिने जस्ता अति सामान्य र अपत्यारिलो प्रलोभनमा पारी ठगी गर्ने क्रम बढ्दो छ ।सरकारका उच्चपदस्थ अधिकारी, निजामती कर्मचारी, विभिन्न पेसा व्यवसाय तथा सार्वजनिक पद धारण गरेका व्यक्तिका सामाजिक सञ्जाल ह्याक गरी ठग्ने र हुबहु एपमार्फत ठगी गर्ने क्रम बढ्दो रहेको पाइएको छ । प्रहरीकै नम्बर जस्ता फोनमार्फत डर, त्रास र प्रलोभन देखाई ठगी गर्ने कामसमेत भइरहेको बताउँदै ब्युरोले साइबर अपराधसम्बन्धी कुनै सूचना, शङ्का वा उजुरी भए तत्काल प्रहरी वा साइबर ब्युरोलाई जानकारी गराउन अनुरोध गरेको छ ।


काठमाडौँ, जेठ २० गते । गत हप्ता काठमाडौँको एक सरकारी विद्यालयका शिक्षक आफ्नै प्राचार्यको मोबाइलबाट आएको एक सन्देशबाट ठगिनुभयो । माथिल्लो तलामा रहनुभएका प्राचार्यको मोबाइलबाट भुइँतलामा रहनुभएका शिक्षकलाई ‘म मिटिङमा छु, जरुरी काम प¥यो, २५ हजार रुपियाँ पठाइदिनुहोस्’ भन्ने म्यासेज आयो । कक्षा कोठाबाट बाहिरिँदै शिक्षकले प्राचार्यलाई रकम पठाउँदा ह्वाटस् एप ह्याक भई रकम ठगी भइसकेको थियो ।

अपरिचित डा. भचन खानसँग सामाजिक सञ्जालमा साथी बनेकी एक महिलाले गत महिना आधा केजी सुन उपहार पाउने लोभमा २२ लाख रुपियाँ गुमाउनुभयो । पाकिस्तानी मूलका बताउने ती डा. खान उपहार बोकेर काठमाडौँको त्रिभुवन विमानस्थल आइपुगेका, सुनको भन्सार तिर्नुपर्ने भनी नेपाली महिलासँग रकम माग गरेपछि महिलाले आफूसँग भएको सबै रकम बुझाउनुभयो । प्रहरीका अनुसार डा. खान नामक आइडीबाट ठगिनेमा युवतीदेखि ५० वर्ष काटेका धेरै नेपाली महिला छन् ।

बर्सौंसम्म वैदेशिक रोजगारी गरी राम्रो आर्थिक हैसियत बनाएर नेपाल फर्किनुभएका एक वृद्ध पुरुष अपरिचित व्यक्तिबाट अपुताली पाउने लोभमा यतिबेला घरबारविहीन अवस्थामा पुग्नुभएको छ । छ जना छोरासमेत बिचल्ली पर्ने गरी ती वृद्धले पटक पटक गरी ती अपरिचित व्यक्तिलाई झन्डै तीन करोड बुझाएर ठगिँदा न त वित्तीय संस्थाले शङ्कास्पद कारोबारको जानकारी दियो, न त उहाँले परिवारलाई नै यसबारे सुइँको दिनुभयो । खाडी मुलुकमा मृत्यु भएका एक व्यक्तिको सम्पत्ति (अपुताली) दिलाइदिने भन्दै ह्याकरले उक्त रकम ठगी ग¥यो । यी केही प्रतिनिधि घटना हुन् ।

सामाजिक सञ्जाल, बैङ्क तथा वित्तीय संस्था, अनलाइन कारोबार, चिट्ठा, पार्सल, उपहार, वैदेशिक रोजगारीको प्रलोभन, अपुताली, भिडियो सेयरिङ, अनलाइन जागिर, क्रिप्टो, भर्चुअल सम्पत्ति, अनलाइन टिकटक लगायत कोठा खोजिदिने जस्ता अति सामान्य र अपत्यारिलो प्रलोभनमा पारी ठगी गर्ने क्रम बढ्दो छ ।

नेपाल प्रहरी साइबर ब्युरोमा दैनिक १०० भन्दा बढी यस्ता ठगीका उजुरी दर्ता हुने गरेका छन् । देशभरको तथ्याङ्क हेर्ने हो भने यसको आँकडा निकै ठुलो रहेको प्रहरीको भनाइ छ । साइबर ब्युरोकै तथ्याङ्कमा पनि पछिल्लो तीन वर्ष यस्ता घटना गुणात्मक रूपमा वृद्धि भएको देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ब्युरोमा चार हजार १५४ वटा विभिन्न ठगीका उजुरी दर्ता भएका थिए । आव २०८१÷८२ मा झन्डै दोब्बर सात हजार ७४० वटा उजुरी दर्ता भए भने चालु आव २०८२/८३ को नौ महिना चैतसम्म पाँच हजार ७३६ वटा उजुरी पीडितले ब्युरोमा दर्ता गराएका छन् ।

साइबर ब्युरोका प्रवक्ता दिलिपकुमार गिरीले डिजिटल माध्यमको दुरुपयोगमार्फत साइबर अपराधका घटनाहरू वृद्धि भइरहेकोे बताउनुभयो । आपराधिक घटनाहरू साइबर अपराधसँग जोडिने गरेको बताउँदै उहाँले भन्नुभयो, “आफूले भर्दै नभरेको चिट्ठाको प्रलोभनमा परी रकम पठाउने, अपरिचित नम्बरबाट आएका म्यासेजमै विश्वास गरी आफ्ना गोप्य विवरण सार्वजनिक गर्ने, अप्रत्याशित सस्तो र सहज उपलब्धता देख्नेबित्तिकै अनलाइनमार्फत किनमेल र कारोबार गर्दा ठगिनेहरू बढी छन् ।

निकै चलाखी तथा होसियारीपूर्वक ठगी भइरहेकाले यसबाट बच्न असम्बन्धित लिङ्कहरू नखोल्न, गोप्य विवरण नदिन तथा इमेल लगायत विभिन्न महìवपूर्ण अकाउन्टको पासवर्डहरू बलियो र दोहोरो जाँचबाट खुल्ने गराउन, अपरिचित व्यक्तिबाट आएका ‘कल म्यासेज’ कुनै पनि रूपमा ‘रिसिभ’ नगर्न उहाँले सुझाव दिनुभयो ।

ठगिएको रकम सीमा क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूको बैङ्क खातामार्फत ह्याकरले सजिलै रकम दोस्रो मुलुक पु¥याउने गरेका कारण अनुसन्धान पनि जटिल बनेको बताउँदै साइबर ब्युरोले बिनापरिश्रमको लोभमा नपर्न पनि सबैमा अनुरोध गरेको छ ।

साइबर ठगी बढेसँगै ब्युरोले अनुसन्धान र कारबाहीको दायरा थप फराकिलो बनाउँदै विभिन्न माध्यमबाट बृहत् सचेतना अभियान सुरु गरेको छ । ब्युरोले पछिल्लो तीन वर्षमा करिब साढे चार हजार जना पीडितका समस्याको सम्बोधन गरेको जनाएको छ । ब्युरोले सामाजिक सञ्जालमार्फत ठगीसँगै सामाजिक सद्भाव बिगार्ने, हिंसा भड्काउने, अश्लीलता फैलाउने तथा समाजमा भ्रम सिर्जना गर्ने खालका सामग्री डिजिटल माध्यममा प्रसारण गर्ने क्रम बढ्दो रहेकाले सावधानी अपनाउन पनि आग्रह गरेको छ ।

सरकारका उच्चपदस्थ अधिकारी, निजामती कर्मचारी, विभिन्न पेसा व्यवसाय तथा सार्वजनिक पद धारण गरेका व्यक्तिका सामाजिक सञ्जाल ह्याक गरी ठग्ने र हुबहु एपमार्फत ठगी गर्ने क्रम बढ्दो रहेको पाइएको छ । प्रहरीकै नम्बर जस्ता फोनमार्फत डर, त्रास र प्रलोभन देखाई ठगी गर्ने कामसमेत भइरहेको बताउँदै ब्युरोले साइबर अपराधसम्बन्धी कुनै सूचना, शङ्का वा उजुरी भए तत्काल प्रहरी वा साइबर ब्युरोलाई जानकारी गराउन अनुरोध गरेको छ ।

– मित्र भण्डारी