06/02/2026, 17:30:59
मङ्गलबार, जेठ १९, २०८३

राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताका विषयमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्नेमा जोड


काठमाडौँ, जेठ १९ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राईले राष्ट्रिय सार्वभौमसत्ता र अखण्डताको विषयमा सरकार र प्रतिपक्ष एक हुनुपर्नेमा जोड दिनुभएको छ । सांसद राईले प्रधानमन्त्रीले गत जेठ १७ गते दिनुभएको अभिव्यक्ति राष्ट्रहित अनुकूल नरहेको भन्दै त्यसलाई अविलम्ब सच्याउनुपर्ने माग गर्नुभयो ।

बैठकमा सांसद राईले प्रधानमन्त्रीको सदनमा उपस्थितिको विषयलाई लिएर संवैधानिक र कानुनी प्रश्नसमेत उठाउनुभयो । प्रतिनिधिसभा नियमावलीको नियम ४ को उपनियम (१) बमोजिम प्रत्येक सदस्यले बैठकमा उपस्थित हुनुअघि हाजिर गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको हाजिरी अभिलेख सार्वजनिक गर्न माग गर्नुभयो ।

संविधानको धारा ७७ को उपधारा (१) को खण्ड (ग)लाई उद्धृत गर्दै उहाँले प्रतिनिधिसभाको सदस्य नरहेको अवस्थामा प्रधानमन्त्रीको पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्थातर्फ ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्रीले सदनका बैठकमा नियमित हाजिर गरे वा नगरेको विषयमा अभिलेख शाखाबाट स्पष्ट जानकारी गराउन उहाँले सभामुखसँग माग गर्नुभयो ।

सांसद राईले भारतसँगको सीमा विवादका सम्बन्धमा प्रधानमन्त्रीले सदनमा आएर तथ्यगत पुष्टि गर्नुपर्ने र यस्ता संवेदनशील विषयमा हल्का टिप्पणी गर्न नहुने भन्दै सरकारको जवाफदेहितामाथि प्रश्न उठाउनुभएको थियो ।