मुक्तिनाथ (मुस्ताङ), जेठ १८ गते । चार दिन लामो सार्वजनिक विदामा मुस्ताङमा ३५ हजारभन्दा बढी पर्यटक पुगेका छन् । बेनी–जोमसोम–कोरला सडक र हवाई मार्ग हुँदै चार दिनको अवधिमा ३५ हजार ३० पर्यटक पुगेको सीमा प्रहरी चौकी घाँसाको अभिलेखमा उल्लेख छ । लामो विदामा छिमेकी जिल्ला म्याग्दी तथा देशभरबाट पर्यटकको भिड लागेपछि मुस्ताङका होटलहरू खचाखच भरिएका थिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सार्वजनिक विदामा बिहीबार सात हजार ८२७ जना, शुक्रबार नौ हजार ८० जना, शनिबार ६ हजार ५ जना र आइतबार ६ हजार ६५१ जना सडक सञ्जालमार्फत भित्रिएका थिए ।


सार्वजनिक विदाका तीन दिनसम्म प्रतिकूल मौसमका कारण हवाई उडान हुन सकेन । तर आइतबार पोखराबाट हवाई मार्ग हुँदै ८१ जना स्वदेशी तथा विदेशी पर्यटक भित्रिएको प्रहरी निरीक्षक बस्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विदामा पर्यटकको आगमन उच्च हुने गरेको छ, पर्यटकलाई सहज हुने गरी सडकमा नियमित गस्ती बढाउने गरिन्छ । मुस्ताङमा भित्रिने स्वदेशी पर्यटक घाँसादेखि चीनको सिमाना कोरलासम्म पुग्ने भएकाले माथिल्लो क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने समस्या न्यूनीकरण गर्न सचेतनामूलक अभियानसमेत सञ्चालन गरिएको छ ।”


मुस्ताङ घुम्न आउने अधिकांश पर्यटक धार्मिक स्थल मुक्तिनाथ मन्दिर पुग्ने गरेका छन् भने मोटरसाइकल र अन्य सवारीसाधनमार्फत कोरला नाकासम्म पुगेर फर्किने गरेका छन् । सार्वजनिक विदाका दिन मुक्तिनाथ मन्दिरमा तीर्थालुको चाप व्यवस्थापनमा समेत कठिनाइ भएको मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिका कर्मचारी दिनेश भुषालले जानकारी दिनुभयो ।
मुक्तिनाथ मन्दिरमा विदा बाहेकका समयमा पनि दैनिक तीन हजारभन्दा बढी तीर्थालु आउने गरेका छन् । मुस्ताङ घुम्न जाने नेपाली पर्यटकको बसाइ दुईदेखि तीन दिनसम्म हुने गरेको छ ।


पोखरा–बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दी, बागलुङ र पर्वत जिल्लाका होटल तथा रेस्टुरेन्टमा समेत आर्थिक कारोबार बढेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुविन श्रेष्ठले बताउनुभयो । उक्त सडकखण्डको म्याग्दी क्षेत्रमा बाढीपहिरोका कारण पर्यटकले सास्ती भोग्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।


प्राचीन गुफा, बस्तीभन्दा टाढा रहेका मानव निर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङी कला र संस्कृति तथा अनुकूल हावापानी मुस्ताङका प्रमुख पर्यटकीय आकर्षण मानिन्छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























