05/29/2026, 21:44:36
शुक्रबार, जेठ १५, २०८३

‘तेज ब्रान्डको तेल गुणस्तरहीन’


काठमाडौँ, जेठ १५ गते । खाद्य स्वच्छता तथा गुणस्तर विभागले सिद्धार्थ आयल इन्डस्ट्रिजमा उत्पादित ‘तेज’ ब्रान्डको तोरीको तेल गुणस्तरहीन पाइएकाले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । विभागले बजार अनुगमन र निरीक्षणका व्रmममा तेज ब्रान्डको तेल नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा उक्त तेल न्यूनस्तरको पाइएपछि तत्काल फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागका अनुसार रुपन्देहीको गुरबानियाँमा रहेको सिद्धार्थ आयल इन्डस्ट्रिजले आयातित तोरीको गेडाबाट उत्पादन गरेको ब्याच नं. २० को तेलमा कैफियत भेटिएको छ । उक्त तेलको उत्पादन मिति २०८२ फागुन २८ रहेको छ । प्रयोगशाला विश्लेषणका व्रmममा प्राप्त नमुना सरकारले तोकेको अनिवार्य मापदण्ड अनुसार नपाइएकाले सो ब्याचको तेल उपभोगका लागि उपयुक्त छैन ।

विभागका निर्देशक डा. बालकुमारी शर्माले उक्त ब्याचको सम्पूर्ण खाने तोरी तेल खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रावधानविपरीत भेटिएकाले विभागले बजारबाट तत्काल फिर्ता गर्न सम्बन्धित उत्पादकलाई कम्पनीलाई निर्देशन दिएको जानकारी दिनुभयो । साथै सोही ऐनबमोजिम उक्त तेल बिव्रmीवितरण नगर्न र नगराउन निर्देशन गरेको र निर्देशन उल्लङ्घन गरिएमा प्रचलित कानुनबमोजिम थप कारबाही हुनेसमेत उहाँले प्रस्ट पार्नुभयो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐनमा न्यूनस्तरको वा मिसावटयुक्त खाद्य पदार्थ उत्पादन गर्नेलाई आर्थिक जरिबाना र निश्चित वर्षसम्मको कैद सजाय हुने व्यवस्था गरिएको छ ।