काठमाडौँ, जेठ ११ गते । सन् २०१५ को सेप्टेम्बरमा अफ्रिकी देशहरूमा इबोला भाइरस रोग फैलिरहेका बेला एक नाइजर नागरिक भिसाबिनै नेपाल आइपुगे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको स्वास्थ्य डेस्कमा राखिएको इन्फ्रारेड थर्मल इमेजिङ क्यामराले ती व्यक्तिमा ज्वरो देखाएपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीको भागाभाग भयो । केही प्रहरी कर्मचारीसमेत डराएर अलग भए ।
दुई जना सशस्त्र प्रहरीहरूले ती व्यक्तितर्फ बन्दुक तेर्स्याउँदै एक कदम पनि नचल्न चेतावनी दिएपछि भने उनी डरले रुन थाले ।
‘विमानस्थलमा एक प्रकारको आतंकको अवस्था सिर्जना भएको थियो, म आफैं पनि अवस्था बुझ्न त्यहाँ पुगेको थिएँ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालीन निर्देशक डा. बाबुराम मरासिनीले ११ वर्षअघिको घटना सम्झिए, ‘ती विदेशी गैरकानुनी रूपमा आएको पाइयो । तनावका कारण उनको तापक्रम बढेको रहेछ । हामीले रातभर हिरासतमा राख्यौं र उनी आएकै विमानमार्फत फिर्ता पठायौं ।‘
इबोला अफ्रिकी उपमहाद्वीपमा पाइने ओर्थोइबोला भाइरसबाट हुने अत्यन्त संक्रामक रोग हो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसले गम्भीर र प्रायः घातक रोग निम्त्याउन सक्छ, जसको मृत्युदर ८० देखि ९० प्रतिशतसम्म पुग्न सक्छ ।


हाल प्रजातान्त्रिक गणतान्त्रिक कङ्गो र युगान्डामा इबोलाको नयाँ प्रकारको स्ट्रेन फैलिँदा ठूलो चिन्ता बढेको छ । त्यहाँ करिब १७० शंकास्पद मृत्यु र ९०० भन्दा बढी संक्रमणका केस रिपोर्ट भएका छन् ।
विज्ञहरूका अनुसार विश्वव्यापी आवतजातका कारण नेपाल पनि संक्रामक रोगहरूको उच्च जोखिममा छ । दैनिक हजारौं अन्तर्राष्ट्रिय यात्रुहरू आउने र आप्रवासी श्रमिकहरूको निरन्तर आवतजावतका कारण जुनसुकै क्षेत्रबाट रोग भित्रिन सक्छ ।
यसबाहेक हाल कङ्गोमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत ९७० भन्दा बढी नेपाली शान्ति सैनिक तैनाथ छन्, जसमा इटुरी प्रान्तको बुनियासमेत पर्छ, जो पछिल्लो इबोला भाइरस संक्रमणको केन्द्र थियो ।
स्वास्थ्य विज्ञ, भाइरोलोजिस्ट र संक्रामक रोग विशेषज्ञहरूले नेपाल इबोलाको एउटै केस पनि सम्हाल्ने अवस्थामा नरहेको बताएका छन् । २०१५ मा भएको विमानस्थलको उक्त घटनायता अत्यन्त संक्रामक रोगहरू नियन्त्रणको तयारीमा खासै सुधार नभएको उनीहरुको भनाइ छ ।
‘सरकारले जे दाबी गरे पनि हाम्रो स्वास्थ्य प्रणाली कमजोर छ र इबोला जस्ता अत्यन्त संक्रामक रोग सम्हाल्न तयार छैन,’ मरासिनीले भने, ‘यदि एक मात्र संक्रमित बिरामी वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल जस्ता ठूला अस्पतालमा पुग्यो भने ठूलो विनाश निम्तिन सक्छ । किनकि त्यहाँ दैनिक हजारौं बिरामी पुग्ने भएकाले सर्ने जोखिम रहन्छ ।‘


विज्ञहरूका अनुसार इबोला जस्ता रोग सम्हाल्न ‘डेडिकेटेड’ अस्पताल आवश्यक पर्छन् । सरकारले हालसम्म इबोला उपचारका लागि कुनै अस्पताल तोक्ने वा तयारी गर्ने आवश्यकतासमेत महसुस गरेको छैन ।
अधिकारीहरूका अनुसार विमानस्थल स्वास्थ्य डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरूलाई सचेत गराइएको छ, तर डाक्टरहरूका अनुसार रोग इन्क्युबेसन (लक्षण नदेखिने) अवधिमा पनि फैलिन सक्छ । इन्क्युबेसन अवधिमा नेपाल प्रवेश गर्ने यात्रुमा इबोलाको लक्षण देखिँदैन । तर यस अवधिमा संक्रमित व्यक्तिले अरूलाई पनि संक्रमण सार्न सक्छ ।
‘संक्रमित व्यक्ति सिधै तोकिएको अस्पताल नै जाने ग्यारेन्टी के छ ?‘ संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले प्रश्न गरे, ‘ऊ पहिले फार्मेसी वा क्लिनिक जान पनि सक्छ, जुन ठाउँहरू संक्रामक रोग व्यवस्थापनका लागि तयारै छैनन् ।‘
डाक्टरहरूका अनुसार यो भाइरस सिँगान, खकार, रगतजस्ता शरीरका तरल पदार्थबाट सर्छ । संक्रमित व्यक्तिका मलमूत्रबाट समेत सर्ने हुँदा ढल प्रणालीमा मिसिनुअघि निसंक्रमण (डिसइन्फेक्सन) गर्नुपर्छ । तर नेपालका कुनै पनि अस्पतालमा यस्तो प्रणाली छैन ।
‘हामीसँग परीक्षण किट त छैन, खोप छैन र बुन्डिबुग्यो प्रकारको इबोलाको उपचार पनि छैन,’ अधिकारीले भने, ‘सम्बन्धित निकायहरूले यसलाई गम्भीर रूपमा लिएका छैनन्, जुन ठूलो गल्ती हुनेछ । कोरोना पनि यस्तै उपेक्षाका कारण फैलिएको थियो ।’
विज्ञहरूका अनुसार शंकास्पद बिरामीका लागि बस्तीभन्दा टाढा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यक छ । संक्रमण फैलिन नदिन विशेष एम्बुलेन्स चाहिन्छ र चालक तथा सुरक्षाकर्मीलाई तालिम दिनुपर्छ । तर अहिलेसम्म केही पनि भएको छैन ।
पूर्व स्वास्थ्य अधिकारीहरूका अनुसार २०१४–२०१६ को इबोला प्रकोपका बेला हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तालिम दिइएको थियो । उपचार केन्द्र तोकिएको थियो भने सुरक्षा निकायसँग पनि समन्वय गरिएको थियो ।
उनीहरूका अनुसार परीक्षणका लागि संकलित नमुना विश्व स्वास्थ्य संगठनका अत्याधुनिक प्रयोगशालामा पठाउनुपर्छ, तर अन्तर्राष्ट्रिय एयरलाइन्सले संक्रामक भाइरसका नमुना बोक्न सजिलै अनुमति दिँदैनन् ।


‘हामीले स्वास्थ्यकर्मीलाई तालिम दिएका छौं, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगाउने र खोल्ने प्रक्रिया पनि सिकाएका छौं,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले भने, ‘इबोला मात्र होइन, अन्य घातक रोग नियन्त्रणको तयारी पनि आवश्यक छ, किनकि जुनसुकै बेला संक्रमण फैलन सक्छ ।‘
इबोला संक्रमित व्यक्तिमा ज्वरो, टाउको दुखाइ, बान्ता, अत्यधिक कमजोरी, पेट दुखाइ, नाकबाट रगत बग्ने र रगत बान्ता हुने जस्ता लक्षण देखिन्छन् ।
विज्ञहरूले प्रयोगशाला क्षमता वृद्धि गर्न, स्वास्थ्यकर्मीलाई तालिम दिन र निगरानी प्रणाली बलियो बनाउन आग्रह गरेका छन् । उनीहरूका अनुसार हाल नेपालमा इबोला फैलिने जोखिम कम भए पनि यसलाई पूर्ण रूपमा अस्वीकार गर्नु गल्ती हुनेछ ।
‘बिरामी अस्पताल आउँछ भनेर कुर्नु हुँदैन, तयारी पहिले नै गर्नुपर्छ,’ शुक्रराज अस्पतालको क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुनले भने, ‘यस्तो लापर्बाहीले मानिसको ज्यान जान्छ, विपत्ति निम्तिन्छ ।‘
यसैबीच, नेपाली सेनाले कंगोबाट फर्किने शान्ति सैनिकलाई २१ दिन अनिवार्य आइसोलेसनमा राख्ने भएको छ ।
‘इबोला प्रभावित मुलुकबाट फर्किएका सैनिकलाई हामीले आउनेबित्तिकै कसैलाई भेट्न र घर जान दिँदैनौं, उनीहरू अनिवार्य २१ दिन आइसोलेसनमा बस्नुपर्नेछ,’ नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले भने । घर फर्किने सैनिकहरूसँगै इबोला नआओस् भनेर सेनाले स्वास्थ्य मन्त्रालय र संयुक्त राष्ट्र संघसँग पनि सहकार्य गरिरहेको उनले बताए ।
उनका अनुसार कंगोमा रहेका शान्ति सैनिकलाई कडा सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिइएको छ । संयुक्त राष्ट्र संघले पनि सावधानीलाई विशेष जोड दिएको छ ।
‘गस्तीका लागि ब्यारेकबाट बाहिर निस्कनेहरूलाई पनि निश्चित समयसम्म अलग्गै राखिन्छ,’ बस्नेतले भने, ‘तीन महिनाअघिजस्तो अहिले टोली परिवर्तन गर्ने योजना पनि छैन । कसैलाई अत्यावश्यक नै परे घर फर्किन पाउनेछन् । तर उनीहरू पनि आइसोलेसनमा बस्नुपर्नेछ ।‘
– अर्जुन पौडेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















































