

काठमाडौँ, साउन १० गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्काय अन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको ६ मिनेटमै प्रश्नपत्र ह्वाट्सएप ग्रुपमार्फत ‘लिक‘ भएको छ।
हजारभन्दा बढी सदस्य रहेको ‘एमबीएस प्रथम सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र मात्र पोस्ट भएन, उत्तरको मोल-मोलाइ र लेनदेनसमेत सुरु भएको पाइएको छ। ग्रुपमा ‘सुलभ सर’ नाम गरेका व्यक्तिले प्रश्नपत्र पठाउँदै अन्य विषयको पनि प्रश्नपत्र र उत्तर उपलब्ध गराउने आश्वासन दिएका थिए।
परीक्षाको मर्यादा र शैक्षिक विश्वसनीयतामाथि गम्भीर खेलबाड भएको यो घटना सार्वजनिक हुनेबित्तिकै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कडा कदम चाल्नुभएको छ। मन्त्री पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई फोन गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोलाई २४ सै घण्टा परिचालन गर्न निर्देशन दिनुभएको थियो।
प्रहरीको प्राविधिक टोलीले डिजिटल फुटप्रिन्ट र ह्वाट्सएप ग्रुपको सूक्ष्म विश्लेषण गरी २४ घण्टाभित्रै घटनाका मुख्य सूत्रधार ‘सुलभ सर’ सहित स्क्रिनसटमा नाम देखिएका अर्का एक जनालाई पक्राउ गर्न सफल भएको छ।
शिक्षामन्त्री पोखरेलले शैक्षिक अपराधमा कसैलाई छुट नदिइने स्पष्ट पार्दै त्रिविको आन्तरिक संयन्त्रमाथि पनि छानबिन गरी दोषीलाई कारबाही गरिने बताउनुभयो।
यसैक्रममा त्रिवि व्यवस्थापन सङ्कायको डीन कार्यालयले पनि प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले परीक्षा केन्द्रको सुरक्षा र प्रश्नपत्र बाहिरिनुको आन्तरिक कारणबारे अध्ययन गरी प्रतिवेदन बुझाउनेछ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























