05/25/2026, 09:34:14
सोमबार, जेठ ११, २०८३

सगरमाथा आरोहणमा ऐतिहासिक सफलता


काठमाडौँ, जेठ ११ गते । यस वर्षको वसन्तकालीन आरोहणमा हालसम्मकै सर्वाधिक ८८० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । वैशाख ३१ गते सुरु भएको सगरमाथा आरोहणमा आइतबारसम्म आरोही र सहयोगी शेर्पा गरेर ८८० जनाले चुचुरो टेकेका छन् ।

खुम्बु क्षेत्रको पर्वतारोहणसम्बन्धी गतिविधि व्यवस्थापनका लागि सगरमाथा आधार शिविरमा स्थापना गरिएको अस्थायी फिल्ड कार्यालयका संयोजक खिमलाल गौतमका अनुसार आइतबारसम्म ९० प्रतिशत आरोहण सम्पन्न भएको छ । उहाँले भन्नुभयो, “यस वर्षको आरोहणयाममा सगरमाथामा ऐतिहासिक सफलता मिलेको छ । हालसम्म ८८० हाराहारी आरोही चुचुरोमा पुगिसकेका छन् भने मङ्गलबारसम्म थप एक सय हाराहारी आरोही चुचुरो टेक्ने तयारीमा छन् । सगरमाथामा पहिलो पाइला पुगेको ७३ वर्षको आरोहण इतिहासमा एकै याममा यति धेरै आरोही चुचुरोमा पुगेको पहिलो पटक भएकाले यस वर्ष ऐतिहासिक सफलता मिलेको छ ।

वसन्तकालीन याममा सगरमाथा आरोहण सकिने समय (जेठ १५) नजिकिँदै जाँदा यस वर्ष सगरमाथामा थुपै कीर्तिमानसमेत कायम भएको जनाउँदै उहाँले आरोहण सुरक्षाका हिसाबले समेत यस वर्ष न्यून मानवीय क्षतिसहित सुरक्षित आरोहण भएको जनाउनुभयो ।

पर्यटन विभागले यस वर्ष सगरमाथाका लागि मात्रै ४९५ जनालाई आरोहण अनुमति जारी गरेको छ । जुन सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामा पहिलो सफल आरोहण गरेयताकै सबैभन्दा बढी हो । यस वर्ष आरोहण अनुमति सङ्ख्या, सफल आरोहणको सङ्ख्या र आरोहीबाट हिमाली दस्तुर (राजस्व) समेत हालसम्मकै सर्वाधिक सङ्कलन भएको विभागले जनाएको छ ।

विभागका अनुसार यस वर्ष सगरमाथामा कामिरिता शेर्पाले ३२ औँ पटक चुचुरोमा पुगेर कीर्तिमान बनाउनुभएको छ । त्यस्तै महिलातर्फ लाक्पा शेर्पाले सर्वाधिक ११ औँ पटक सगरमाथा आरोहण पूरा गर्नुभएको छ । त्यस्तै कामिरिताभन्दा एक कदम पछि रहेका पासाङ दावा शेर्पाले ३१ औँ पटक सगरमाथाको सफल आरोहण पूरा गर्नुभएको छ । त्यस्तै अर्का प्रसिद्ध आरोही दोर्जी ग्याल्जेनले पनि २४ औँ पटक सगरमाथा आरोहण गरेर कामिरिता र पासाङ दावालाई पछ्याइरहनुभएको छ ।

साहसको प्रदर्शन

चर्चित बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथा २० औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फको नयाँ कीर्तिमान बनाउनुभएको छ । दक्षिण–पश्चिम इङ्ग्ल्यान्डको ग्लोस्टरसायरका ५३ वर्षीय कुलले गत शुक्रबार सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेर सर्वाधिक सगरमाथा आरोहण गर्ने विदेशी आरोहीको इतिहास रच्नुभएको हो । उहाँले यसअघि सन् २०१३ मा नुप्से, सगरमाथा र ल्होत्से एकै याममा आरोहण गर्ने पहिलो बेलायती आरोहीको इतिहास बनाउनुभएको थियो ।

यसै गरी यस वर्ष अस्ट्रेलियाकी १८ वर्षीय आरोही बियान्का एडलरले सफलतापूर्वक सगरमाथा आरोहण गरेर सबैभन्दा कम उमेरकी अस्ट्रेलियन आरोहीको कीर्तिमान बनाउनुभएको छ । यसै गरी कम्मरमुनिको भाग नभएका (डबल एम्प्युटी) रुसका पर्वतारोही रुस्ताम नाबिएभले हातको सहारामा सगरमाथाको आरोहण गरेर इतिहास रच्नुभएको छ ।

आफ्नो हात प्रयोग गरेर गत बिहीबार सगरमाथाको चुचुरोमा पुगेर फर्किएका उहाँले अटल इच्छाशक्ति, मेहनत र आत्मविश्वास भए संसारको जुनसुकै कुरा पनि सम्भव छ भन्ने सन्देशसहित कीर्तिमान बनाउनुभएको हो । सन् २०१५ मा सैनिक ब्यारेक भवन भत्किँदा करिब सात घण्टा भग्नावशेषमा पुरिँदा आफ्ना दुवै खुट्टा गुमाएका उहाँले कठिन शारीरिक चुनौतीको सामना गर्दै सगरमाथा चढेर संसारलाई प्रेरणा दिन सफल हुनुभएको हो । यसअघि सन् २०२३ मा घुँडासम्म दुवै खुट्टा गुमाएका हरिबहादुर बुढाले सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । भूतपूर्व गोर्खा सैनिकसमेत रहेका बुढाले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

सात जनाले ज्यान गुमाए

यस वर्ष आरोहणका क्रममा ज्यान गुमाउनेको सङ्ख्या सात पुगेको छ । तीमध्ये पाँच जनाको सगरमाथामा र दुई जनाको मकालु हिमालमा मृत्यु भएको हो । मृत्यु हुनेमा तीन जना नेपाली र चार जना विदेशी नागरिक छन् । विदेशीमध्ये दुई भारतीय, एक चेक रिपब्लिकका र एक अमेरिकी नागरिक छन् ।