05/23/2026, 09:40:34
शनिबार, जेठ ०९, २०८३

सार्वजनिक सवारीको नयाँ दर्तामा रोक


काठमाडौँ, जेठ ९ गते । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको नयाँ दर्तामा रोक लगाएको छ । विभागले बढ्दो ट्राफिक जाम, वायुप्रदूषण र सडकको चाप कारण देखाएर अर्को सूचना जारी नहुँदासम्म सवारी दर्तामा रोक लगाएको सूचना सार्वजनिक गरेको हो ।

विभागका निर्देशक मणिराम भुसालले दर्ता रोक लगाएको परिपत्र सातै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पठाइएको जानकारी दिनुभयो । विभागका अनुसार इन्धनबाट चल्ने मात्र नभई विद्युतीय सार्वजनिक सवारीको नयाँ दर्ता पनि रोकिएको छ ।

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्नु, अत्यधिक वायुप्रदूषण बढ्नु, सवारीको चाप र ट्राफिक जामका कारण आवागमनमा गम्भीर कठिनाइ उत्पन्न हुनु र इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात सञ्चालनमा देखिएको असहजता र कठिनाइका कारण दर्तामा रोक लगाइएको विभागले जनाएको छ । विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गर्दै यो निर्णय गरेको भुसालले बताउनुभयो ।

यातायात व्यवसायीले पनि यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले भन्नुभयो, “नयाँ ढङ्गले व्यवस्थापन गर्ने भनिएको छ । सार्वजनिक सवारी व्यवस्थापन जरुरी छ । यसलाई सकारात्मक रूपमा लिउँ । बाँकी विषयमा हामी छलफल गर्दै छौँ ।

सवारी दर्ता रोकिएको विषयलाई लिएर नेपाल चेम्बर अफ कमर्सले यस निर्णयले अटोमोबाइल व्यवसायी ठुलो आर्थिक जोखिममा परेको जनाएको छ ।

चेम्बरका अनुसार सार्वजनिक सवारी व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित र दीर्घकालीन बनाउन सरकारद्वारा ल्याउन लागिएको नीति स्वागतयोग्य भए पनि व्यवसायीहरूसँग कुनै पूर्वसूचना, छलफल वा समन्वय नगरी हठात रूपमा दर्ता रोक्का गर्ने निर्णय गरिनु व्यवहारिक नभएको उल्लेख छ । विज्ञप्तिमा विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत ऋण लिएर प्रतितपत्र (एलसी) खोली आयात गरिएका सयौँ सवारी साधन भन्सार छुटेर दर्ता प्रव्रिmयामा रहेको, केही ट्रान्जिटमा रहेको तथा कतिपय उत्पादक कम्पनीबाट अर्डर अनुसार निर्माण तथा डिस्प्याच भइसकेको अवस्थामा अचानक दर्ता रोक्का गरिँदा लगानी जोखिममा परेको जनाइएको छ ।