05/22/2026, 12:20:07
शुक्रबार, जेठ ०८, २०८३

पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै


काठमाडौं, जेठ ८ गते । पूर्वप्रधानमन्त्री सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ प्रकाशन हुने भएको छ ।

पूर्वप्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको नेतृत्व गरिरहेको सबैभन्दा चुनौतीपूर्ण समयमा यो पुस्तक सिर्जना गर्नुभएको हो ।

जेनजी आन्दोलनले तत्कालीन सरकारलाई विस्थापित गरेपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहँदा राष्ट्र अनिश्चितताको भूमरीमा परेको बेलामा आफ्नो कल्पनाशीलता र सिर्जनशीलता कायम राख्दै बालमनोविज्ञानलाई केन्द्रमा राखेर यो कृति लेखेको उहाँले बताउनुभयो ।

नेपालको पहिलो महिला प्रधानन्यायाधीश कार्कीले आफ्ना नातिलाई समर्पित गर्नुभएको यस पुस्तकले अपार प्रेम, आशा र सकारात्मकताको सन्देश दिन्छ ।

चराचुरुङ्गी र जनावरहरूबीचको अन्तरक्रियामार्फत उपन्यासले समानुभूति, सहकार्य, प्रेम र पारस्परिक निर्भरताको सन्देश प्रवाह गरेको छ । कौतुहल र मनोरञ्जनले भरिपूर्ण भएकाले कथावस्तु रोचक बनेको छ । पूर्वप्रधानमन्त्री कार्कीका दुई कृति ‘न्याय’ (संस्मरण) र ‘कारा’ (उपन्यास) नेपाली भाषामा यसअघि बजारमा आइसकेका छन् ।

उहाँ ‘लैङ्गिक समानता’ र ‘महिलावाद’ (नारीवाद) को लेखक पनि हुनुहुन्छ । पूर्वप्रधानमन्त्री कार्कीले पुस्तक अन्योल र अनिश्चितताको युगमा हुर्किरहेका विश्वभरका बालबालिकाका लागि उपहार रूपमा आएको बताउनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..