05/20/2026, 14:04:27
बुधबार, जेठ ०६, २०८३

काँग्रेस रुपन्देही उपसभापति डा. शाहको राजीनामा स्वीकृत


काठमाडौँ, जेठ ५ गते । नेपाली काँग्रेस रुपन्देहीले जिल्ला उपसभापति डा. अनिता ढुंगाना शाहले दिएको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको छ ।

जिल्ला पदाधिकारी बैठकले उनको राजीनामालाई अनुमोदन गर्ने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ । जिल्ला सभापति रामकृष्ण खाँणले प्रस्तुत गरेको प्रस्तावमाथि छलफलपछि पदाधिकारी बैठकले सर्वसम्मत रूपमा राजीनामा स्वीकृत गर्ने निर्णय गरेको बताइएको छ ।

 

पार्टीका जिल्ला सचिव हरि काफ्लेका अनुसार बैठकले उपसभापति पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । डा. शाह २०७८ साल मंसिरमा सर्वसम्मत रूपमा जिल्ला उपसभापतिमा निर्वाचित भएकी थिइन् । उनले यही जेठ १ गते पदबाट अलग हुने घोषणा गर्दै राजीनामा बुझाएकी थिइन् ।

डा. शाहका श्रीमान् भरत शाह नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन् । उनी हाल राष्ट्रिय योजना आयोगका सदस्यका रूपमा कार्यरत छन् ।

पार्टीभित्रको असन्तुष्टि, विशेषतः जिल्ला नेतृत्वसँगको मतभेदका कारण डा. शाहले पद त्याग गरेको चर्चा काँग्रेस वृत्तमा भइरहेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..