05/14/2026, 21:41:04
बिहिबार, बैशाख ३१, २०८३

नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्छ : अध्यक्ष राई


काठमाडौँ, वैशाख ३१ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसद्को मर्यादा र संसदीय परम्पराविपरीत भएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले संसद्‍मा उपस्थित भएर सांसदको धारणा प्रत्यक्ष नसुने पनि जबाफ दिने क्रममा भने अनिवार्य उपस्थित हुनुपर्नेमा जोड दिनुभयो । यदि प्रधानमन्त्री उत्तर दिन पनि उपस्थित नभएमा श्रम संस्कृति पार्टीले संसद् बहिष्कार गर्ने चेतावनी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री उपस्थित नहुनु आपत्तिजनक छ । सरकारको प्रमुखले पेस गरेको नीति तथा कार्यक्रममाथि हामी छलफल गरिरहेका छौँ । अरूलाई सुन्नु र सिक्नु संसदीय गरिमा हो । उहाँले ‘लाइभ’ मा सुन्नुहोला वा पछि सुन्नुहोला, तर संसद्‍मै उपस्थित नहुनु संसद्को अपमान हो ।” उहाँले अगाडि थप्नुभयो, “आफ्नो विवाहमा अरूलाई बेहुला पठाएर हुँदैन । त्यसैले उत्तर दिन प्रधानमन्त्री आफैँ आउनुपर्छ । ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्ने शैलीमा संसद् चल्न सक्दैन ।

अध्यक्ष राईले देश विकास गर्न गफले मात्र नहुने भन्दै सरकार र सबै पक्षले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिनुभयो । नीति तथा कार्यक्रममा सबै सांसदका सुझाव समेट्नुपर्नेमा एकलौटी ढङ्गले ल्याइएको उहाँको गुनासो थियो । नीति तथा कार्यक्रममा पर्याप्त छलफल हुन नसकेको र यसमा नीति र कार्यक्रमको स्पष्टता नदेखिएको आरोप पनि उहाँले लगाउनुभयो ।