06/10/2026, 01:34:38
मङ्गलबार, जेठ २६, २०८३

बेसीशहरमा बजार अनुगमन, अनिवार्य मूल्यसूची राख्न निर्देशन


लमजुङ, वैशाख ३१ गते । लमजुङ सदरमुकाम बेसीशहरमा व्यवसायिक सचेतनाका लागि बजार अनुगमन गरिएको छ । मूल्य पारदर्शिता सप्ताहअन्तर्गत व्यवसायीलाई सचेत गराउने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो ।

बेसीशहर बजारका किराना, तरकारी तथा फलफूल पसलमा अनुगमन गरिएको हो । जिल्ला बजार अनुगमन समितिको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधिले अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा व्यवसायी तथा पसल सञ्चालकलाई आफूहरूले उपलब्ध गराउने वस्तु तथा सेवाको मूल्यसूची अनिवार्य रूपमा राख्न निर्देशन दिइएको अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले बताउनुभयो । उहाँले मूल्य पारदर्शिता सप्ताह मनाउनुको मुख्य उद्देश्य वस्तु तथा सेवाको मूल्य पारदर्शिताबारे प्रचारप्रसार गर्नु तथा जनचेतना अभिवृद्धि गर्नु रहेको बताउनुभयो ।

अनुगमनका क्रममा व्यवसायीलाई लेबलिङ नगरिएका वस्तुमा मूल्य उल्लेख गरी पसलमा सूची राख्नुपर्ने, अनिवार्य रूपमा बिल उपलब्ध गराउनुपर्ने तथा उपभोक्ताले पनि बिल लिने बानीको विकास गर्नुपर्नेमा जोड दिइएको थियो ।

त्यस्तै, व्यावसायिक प्रयोजनका लागि राखिएका खाद्यवस्तुको म्याद सकिएको वा नसकिएको विषयमा समेत अनुगमन गरिएको थियो ।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी गौतम, एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मिता कुमारी थापा, बेसीशहर नगरपालिकाका प्रतिनिधि रेशम रिमाल, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि रमाराज खनिया, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..