05/13/2026, 10:10:50
बुधबार, बैशाख ३०, २०८३

‘नेपाली चलचित्र’ मा दर्शकको बढ्दो आकर्षण


कास्की, वैशाख ३० गते । पछिल्लो समय नेपाली चलचित्र दर्शकको प्राथमिकतामा पर्न थालेको छ । नयाँ वर्षको छेकोमा प्रदर्शनमा आएका चलचित्रले घरेलु बजारमा सुखद सुरुवात गरेका छन् ।

चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने बक्स अफिस रिपोर्टलाई आधार मान्दा नयाँ वर्ष २०८३ पनि सुखद हुने लक्षण देखिएको छ । चैत २७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘राम नाम सत्य’ ले राम्रो व्यापार गरेको छ । विकास बोर्डको तथ्याङ्क अनुसार वैशाख २६ गतेसम्म चलचित्रको एक लाख २१ हजार चार सय पाँच टिकट बिक्री भएका छन् । सो चलचित्रले तीन करोड ४० लाख ८१ हजार छ सय ९१ कमाइ गरेको छ ।

चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, सुनील थापा, सुधीर श्रेष्ठ, आयुषसिंह ठकुरी र खुसी कार्की लगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा माइकल चन्दको निर्देशन रहेको छ ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्र्रहमा सङ्गृहीत कथा चलचित्र ‘परालको आगो’ श्रीमान्श्रीमतीको झगडामा आधारित छ । बोर्डको तथ्याङ्क अनुसार ‘परालको आगो’ ले घरेलु बक्स अफिसमा चार करोड २५ हजार ४६६ रुपियाँ ग्रस गरेको छ । यो अवधिमा सो चलचित्रका एक लाख ४३ हजार ७२४ वटा टिकट बिक्री भएका छन् । लक्ष्मण सुनारद्वारा निर्देशित चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शङ्कर आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।

वैशाख १ गतेबाट प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ को व्यापार भने सुखद हुन सकेन । चलचित्रले घरेलु बक्स अफिसमा ६३ लाख ९३ हजार १५२ रुपियाँ ग्रस कमाएको छ । चलचित्र ‘पहाड’ युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर तयार गरिएको हो ।

गत वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ ले ऐतिहासिक व्यापार गरेपछि नेपाली चलचित्रमा दर्शकको आकर्षण बढेको पाइन्छ । दसैँ, तिहार, शिवरात्रि, नयाँ वर्ष जस्ता बिदाको समयमा नेपाली चलचित्रको व्यापार उच्च हुने गरेको तथ्याङ्क बक्स अफिसमा देखिएको छ ।